रियल विरुद्ध ह्याट्रिक गर्ने पेपको दाउ सफल होला त ?

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दैछन् । प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा हुनेछन् ।

गुआर्डीओलाले यसअघि दुई पटक फरक टोलीको जिम्मेवारी सम्हाल्दै रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा हराएका छन् । सन् २०१०-११ सिजनमा बार्सिलोनाको प्रशिक्षकको भूमिकामा गुआर्डीओलाले रियललाई पराजित गरेका थिए । त्यसबेला बार्सिलोनाले सेमिफाइनलमा रियलमाथि ३-१ को समग्र जित हासिल गरेको थियो ।

पेपले त्यसपछि म्यानचेस्टर सिटी आएर पनि रियल म्याड्रिडलाई हराएका छन् । सन् २०१९-२० को सिजनमा पेपको सिटीले रियललाई समग्रमा ४-२ ले पराजित गरेको थियो । त्यसबेला रियलको यात्रा राउन्ड अफ १६ मा नै समाप्त भएको थियो । यसपटक रियललाई पराजित गरे गुआर्डीओला रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको नकआउट चरणमा तीन पटक पराजित गर्ने पहिलो प्रशिक्षक बन्नेछन् ।

पेपसँग यस खेलअघिको इतिहास पनि साथ रहेको छ । रियलले यसअघि म्यानचेस्टर सिटीको मैदानमा खेलेका तीन खेलमा जित्न सकेको छैन । यसक्रममा टोलीले २ बराबरी र १ हारको नतिजा निकालेको छ । आफ्नो मैदानमा रियलविरुद्ध अपराजित रहने क्रममा सिटीले २०१५-१६ को सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सन् २०१९-२० को राउन्ड अफ १६ को पहिलो लेगमा सिटीले २-१ को जित दर्ता गरेको थियो ।

रियलले इंग्ल्यान्डको टोलीविरुद्ध पछिल्लो ६ अवे खेलमा एक पटक मात्र जित हासिल गरेको छ । चेल्सीलाई क्वाटरफाइनलको पहिलो लेगमा पराजित गर्दै रियलले बलियो सुरुवात गरेको थियो । त्यसो त हालसम्म कुनैपनि टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा दुई इंग्लिस टोलीको घरेलु मैदानमा जित हासिल गरेको इतिहास छैन ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१६:०३

मेस्सी-रोनाल्डो बीच को उत्कृष्ट भन्दा रोनाल्डोले दिए यस्तो उत्कृष्ट उत्तर !