“ओलीको भिजन देखेर सबै छक्क छन्, देशभरका युवाले आइ लभ यु केपी बा भन्दैछन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एमालेका महासचिव शंकर पोखरेलले नयाँ मतदाता मध्ये धेरै एमालेलाई समर्थन गर्ने पक्षमा रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पोखरेलले दुई तिहाइ नयाँ मतदाता एमालेको पक्षमा रहेको दावी गरेका हुन्।

पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६६ प्रतिशतभन्दा बढी नयाँ मतदाताहरु आफ्नो पार्टीको पक्षमा रहेको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राष्ट्र निर्माणको भिजनले नयाँ मतदातालाई तानेको उनको भनाई छ। ओलीको भिजन मन परेर नै मतदाताहरुले ‘आई लभ यू केपी बा’ भन्ने गरेको पोखरेलले बताए।

“हामीले एउटा सर्वेक्षण गर्दा नयाँ मतदातामध्ये ६६ प्रतिशतको युवाको झुकाव एमालेतर्फ भएको भेट्यौं। यो त्यसै भएको होइन । अध्यक्ष ओलीले राष्ट्र निर्माणको पक्षमा गर्नुभएको अडानले त्यस्तो भएको हो । आइ लभ यु केपी बा भनेर त्यसै भनेका होइनन्।”,पोखरेलले भने।

पोखरेल त्यतिमा मात्रै रोकिएनन्। उनले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेले पछिल्लो निर्वाचनमा भन्दा पनि बढी स्थानीय तह जित्ने दावी गरे। नेता पोखरेलले एमालेको विभाजनबाट बाहिरिएका भन्दा पार्टीमा प्रवेश गर्नेहरुको संख्या ठूलो रहेको बताए।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९२०:०२

देउवाका प्रिय पात्र एमालेनजिक पुगेपछि …