एजेन्सी – उरुग्वेली सेन्टर ब्याक रोनाल्ड एराउजोले क्याटलान क्लब बार्सिलोनामा सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले मंगलबार रोनाल्डले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब रोनाल्ड २०२६ सम्म क्याटलान क्लब बार्सिलोनामा रहने छन् । यस्तै बार्सिलोनाले पेड्री र अन्सु फातीको जस्तै एराउजोको पनि रिलिज क्लज १ विलियन युरो राखेको छ । बार्सिलोनामा रोनाल्डको सम्झौता सन् २०२३ को सिजनको अन्त्यसम्म रहेको थियो । एराउजोले सम्झौता अवधि झन्डै २ वर्ष बाँकी रहँदै थप तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।
उनको उत्कृष्ट प्रदर्शनले क्लबका अध्यक्ष जोन लापोर्टाले उनलाई प्राथमिकतामा राख्दै क्लबमै राख्न सहमत भएको हो । २३ वर्षीय डिफेन्डर सन् २०१८ मा नोउ क्याम्प पुगेपनि सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । उनी त्यसपछि बार्सिलोनाको मुख्य खेलाडी रहँदै आएका छन् ।
क्लबसँगको सम्झौता नविकरणसँगै एराउजोले साँचै खुशी र अझै धेरै वर्ष बस्न पाउँदा खुशी रहेको बताएका छन् । ‘यो धेरै मिहेनतको फल हो । त्यसैले मलाई मद्दत गर्ने सबै प्रशिक्षकलाई धन्यवाद दिन चहान्छु । जब म क्लबमा आए र बी टोलीमा सामेल भए, यो पहिलो टोलीमा पुग्न ठुलो कुरा थियो ।’ एराउजोले भने ।
‘मलाई याद छ कि म पहिलोपटक क्याम्प नोउमा गएको थिए र मैले देखेको छु कि मानिसहरुले लुइस सुआरेजको लागि कसरी हौसला दिए र मेरो इच्छा थियो कि एक दिन उनीहरुले मेरो लागि त्यस्तै गरुन । मेरो इच्छा अब यहाँ धेरै उपाधि जित्ने हो ।’
एराउजोले बार्सिलोनाका लागि हालसम्म ७८ खेल खेल्दा ६ गोल गरिसकेका छन् । उनले बार्सिलोनाबाट सन् २०२०–२१ के सिजनमा कोपा डेल रेको उपाधि जितेका छन् ।