एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ४-३ को रोमान्चक जित हासिल गरेको हो ।
सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे । रियलका लागि फरवार्ड करीम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे । खेलको अधिकांश समय बल पोसेसनमा पकड जमाउँदै रियलको पोस्टमा आक्रमण गरेको सिटीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । रियलले तुलानात्मक रुपमा कम आक्रमण गरेपनि तीन गोल भने गर्न सफल रह्यो ।
दोस्रो मिनेटमा नै डे ब्रुएनको उत्कृष्ट गोलमा अग्रता लिएको सिटी ११ औं मिनेटमा जेससले गोल गरेपछि २-० ले अघि बढेको थियो । तर बेन्जेमाले ३३ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए ।
दोस्रो हाफको सुरुवातमा फोडेनले गोल गर्दै सिटीको २ गोलको अग्रता पुन: स्थापना गरे । तर भिनिसियसले त्यसको दुई मिनेटमा एकल प्रयासमा दर्शनीय गोल गर्दै रियललाई खेलमा कायम राखे । ७४ औं मिनेटमा सिटीले सिल्भाको गोलमा ४-२ को अग्रता बनायो । तर अन्त्यतिर सिटीका डिफेन्डर एमेरिक लापोर्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बेन्जेमाले खेल १ गोलको फरकमा राखे ।
अब दोस्रो लेग अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ । च्याम्पियन्स लिगमा एकपछि अर्को आश्चर्यजनक नतिजा निकाल्दै आएको रियल दोस्रो लेगमा पुनरागमन गर्ने सुरमा हुनेछ । सिटी भने यसै लयलाई कायम राख्दै पहिलो उपाधिका लागि फाइनल पुग्न चाहन्छ ।

