काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दललाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिएको छ । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले गठबन्धनबाट मेयरमा दिएको उम्मेदवारीमा कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवार उठाएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
बागीका कारण जित्न सकस
भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
बागी दिएका पौडेलले उम्मेदवार फिर्ता नलिए योपटक माओवादी केन्द्रबाट मेयर बनेकी रेणु दाहाललाई निर्वाचन जित्न सकस पर्न सक्छ । कांग्रेसको भोट बागी उम्मेदवारको पक्षमा जाँदा जित्न कठिन हुन सक्छ ।
पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीबाट मेयरमा दिएको उम्मेदवारीविरुद्ध कांग्रेसले बागी उम्मेदवारी दिएको छ । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विमलबहादुर कार्की र ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएका छन् ।
सत्तारूढ दलहरूबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागबन्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर, कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट रहँदै आएका छन् ।