काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । सोही अनुसार, सत्तारूढ पाँच दलीय गठबन्धनले सम्पूर्ण महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा पनि गरेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
पाँच दलतका शीर्ष नेताहरूबीच नै यस्तो यस विषयमा लिखित सहमतिसमेत भएको छ । शीर्ष नेताहरूले सत्तारूढ गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्ने भद्र सहमति पनि गरेका छन् । यसका लागि पाँच दलले तल्लो तहसम्म नै संयन्त्र तयार पारेका छन् भने आआफ्ना नेता/कार्यकर्तालाई निर्देशन पनि जारी गरेका छन् ।
चुनावी तालमेल हुन नसकेको स्थानमा भने आपसमै पनि मित्रवत प्रतिस्पर्धा गर्ने दलहरूबीच सहमति भएको छ । तर, मनोनयन दर्ता प्रक्रियामा भने शीर्ष नेताहरूबीचको लिखित सहमति इमानदारीपूर्वक कार्यान्वयन भएको पाइएन ।
अधिकांश स्थानमा चुनावी तालमेलको सहमति विपरीत सत्ता गठबन्धन दलहरूबाटै बागी उम्मेदबार खडा भएका छन् । पोखरा, ललितपुर, भरतपुरलगायत अधिकांश महानगर र उपमहानगरमा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्घ बागी उम्मेदवार उठेका छन् ।
गठबन्धनको निर्णय विपरीत जाने नेता÷कार्यकर्तालाई कारबाही गर्ने चेतावनीसमेत दलहरूले दिएका थिए । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले समेत चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनको निर्णय विपरीत गए कारबाही गरिने बताएका थिए ।
उनले गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने चेतावनी पनि दिएका थिए । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ’, गृहमन्त्री खाँणले भनेका थिए, ‘पार्टीको निर्णय विपरीत जाने नेता÷कार्यकर्ताको गतिविधिलाई गम्भीर तरिकाले निरीक्षण गरिँदै छ । उनीहरूले कारबाहीको भागिदार बन्नुपर्नेछ ।’
शीर्ष नेताहरूको यस्तो चेतावनीका बावजुद सत्ता गठबन्धन दलभित्रैबाट ठुलै संख्यामा बागी उम्मेदवार देखा परे । त्यसैले सत्ता गठबन्धन दलले चुनावी तालमेलको सहमति उल्लंघन गर्ने नेता÷कार्यकर्ताविरुद्घ कठोर नीति अख्तियार गर्ने संकेत दिएका छन् ।
यसैक्रममा नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । कांग्रेसको विधान–२०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले उनलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
डडेल्धुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । मल्लले अलग पार्टी नेपाली कांग्रेस बिपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेल्धुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।
मल्लकै पहलमा डडेल्धुरामा एमालेले चार र कांग्रेस बिपीले तीन पालिकामा चुनावी तालमेल गरेका थिए । अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस बिपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।

