धेरै ठाउँमा लागु भएन गठबन्धनको सहमति, तल्लो तहमा हुन सकेन सहमति !

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति उम्मेदवार घोषणा गर्ने बेलासम्म आइपुग्दा हराएको छ । केन्द्रबाट सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट गरेर संयुक्त उम्मेदवार चयन गरिए पनि अधिकांश नगरपालिका र गाउँपालिकामा संयुक्त उम्मेदवार चयन कार्य अघि बढेन । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

केन्द्रबाट ७७ जिल्लाको ७ सय ५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी भए पनि स्थानीय तहमा केन्द्रको समझदारी कार्यान्वयन हुन नसकेको हो ।

सत्ता गठबन्धनबीच स्थानीय तहमा समयमा नै निर्णय नभएका कारण सत्ता गठबन्धनका दलहरूलाई सोमबारसम्म पनि उम्मेदवार चयनमा निकै सकस परेको थियो ।

स्थानीय तहमा सत्ता गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरूले लिएको नीति विफल बन्न पुगेको हो । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको महानगर र उपमहानगरपालिकामा पनि सत्तारूढ दलबाटै बागी उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनमा शीर्ष तहमा अन्तिमसम्म कोसिस भए पनि अपेक्षाकृत रूपमा गठबन्धन हुन नसकेको निष्कर्ष सत्ता गठबन्धनका दलहरूले निकालेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केन्द्रबाट महानगर र उपमहानगरपालिकामा चुनावी तालमेल गरे पनि नगरपालिका र गाउँपालिकामा अपेक्षाकृत रूपमा गठबन्धन गर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘हामीले तल्लो तहसम्म नै गठबन्धन गरेर जाने सोच बनाएका थियौं, गठबन्धन गर्नका लागि पार्टीको मात्र कुरा भएन, जनताको भूमिकाको विषय पनि जोडियो, जहाँ–जहाँ सम्भव भयो त्यहाँ गरियो ।’

प्रकाशित : बुधबार, बैशाख १४, २०७९०७:४६

परीक्षाफल प्रकाशनमा त्रिविको ढिलासुस्ती: एक वर्ष बढीदेखि कुरेको कु-यै विद्यार्थी