एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले पूनरागमनका लागि घरेलु मैदान डटेर लड्ने बताएका छन्। युईएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि एन्सेलोटीले घरेलु मैदानमा पूनरागमनका लागि आफूहरु डटेर लड्ने बताएका हुन्।
गएराति भएको खेलमा रियल सिटीसँग ४-३ को गोल अन्तरले पराजित भयो। सिटीका लागि केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गर्दा रियलका लागि करीम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे।
खेलपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै एन्सेलोटीले सान्टियागो बर्नाबेउलाई तयार रहन आग्रह गरे। सिटी विरुद्ध घरेली मैदान सान्टियागो बर्नाबेउमा चमत्कारी खेल खेल्ने एन्सेलोटीको प्रण छ। एन्सेलोटीले दोस्रो लेगमा पहिलो लेगमा भन्दा राम्रो डिफेन्ड गर्नुपर्ने पनि बताए। सिटी विरुद्धको हार पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको हार भन्दा धेरै भिन्न रहेको एन्सेलोटीको भनाई छ ।
“खेल हार्नु पक्कै राम्रो होइन। तर यो हार पिएसजीसँगको हार भन्दा भिन्न छ। यसमा हामी अन्तिम समय सम्म पनि लड्यौं, प्रतिष्पर्धा गर्यौं। मलाई लाग्छ कि हामीले धेरै खराब र नरम रूपमा शुरु गर्यौं। शुरुका दुई गोल निराशाजनक थिए। तर पछि हामीले खेललाई केहि सुधार गर्न सक्यौं। जे होस् हामीले प्रतिष्पर्धा गर्यौं।”,एन्सेलोटीले भने।
पत्रकारहरु समक्ष एन्सेलोटीले आफूहरु हारका कारण जीवित रहने पनि बताए। दोस्रो लेगमा राम्रोसँग डिफेन्ड गर्न सके जित्न सकिने एन्सेलोटीको भनाई छ। बर्नाबेउले उत्कृष्ट पुनरागमन गर्न सक्नेमा उनी आशावादी देखिए।
उनले भने,”दोस्रो लेग एकदम स्पष्ट छ। यदि हामीले राम्रोसँग डिफेन्ड गर्न सक्यौं भने जित्न सकिनेछ। हामी तयार हुनुपर्छ। बर्नाबेउमा चामत्कारिक रातका लागि हामी लड्नेछौँ।”