एजेन्सी – युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज प्रिमियर लिग क्लब लिभरपुल र लालिगा क्लब भिल्लारियल आमने-सामने हुँदैछन्। लिभरपुलको घरेलु मैदानमा यी दुई टोली आज राति आमने-सामने हुन लागेका हुन्।
लिभरपुलले कम्जोर आँकिएको भिल्लारियललाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउने दाउमा हुँदा भिल्लारियल पनि लिभरपुललाई स्तब्ध पार्ने योजनामा हुनेछ।
भिल्लारियलले च्याम्पियन्स लिगको जारी सिजनमा अप्रत्याशित नतिजा निकालिसकेको छ। यस अगाडी भिल्लारियलले क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको थियो। पहिलो लेगमा बायर्नलाई पराजित गरेको भिल्लारियलले दोस्रो लेगमा बायर्नलाई १-१ को बराबरीमा रोकेको थियो। जस सँगै भिल्लारियल समग्रमा २-१ ले विजयी भएको थियो।
त्यस्तै लिभरपुल भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बेन्फिकालाई पराजित गर्दै सेमिफाइनलमा आइपुगेको हो। पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। तर दोस्रो लेगमा भने लिभरपुल बेन्फिकासँग ३-३ को बराबरीमा रोकिन पुगेको थियो।
लिभरपुल र भिल्लारियल बीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानाल सोनी टेन २ र सोनी टेन ३ मा हेर्न सकिनेछ।

