१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीको घोषणापत्रले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले ओलीले आफूहरुलाई पागल भन्न बाध्य भएको टिप्पणी गरेका छन्। हिजो मात्र आयोजना भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र बारे टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नो झुटलाई चुनौती गर्ने हरेकलाई विगतको समयमा पनि पागल भनिसकेको भन्दै थापाले भने, “उहाँको आफ्नो झुटलाई चुनौती गर्ने मानिस देख्नुभयो भने उनीहरुलाई पागल भन्नुहुन्छ।” आज बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले केपी ओलीले नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुमा आफ्नो पार्टीले च्यालेन्ज गर्न नसकेपछि आक्रोशित भएको दाबी गरेका छन्।
थापाले भने, “उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी छ। एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन।” यसैबीच, अध्यक्ष ओलीलाई केही कुरामा आफूले ट्युसन पढाउनु पर्ने देखिएको पनि थापाले बताएका छन्। ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले समृद्धि र कांग्रेसले उल्लेख गरेको समुन्नतिमा धेरै भिन्नता रहेको र त्यो कुरा आफूले ओलीलाई उनकै निवास बालकोट नै गएर बुझाउने समेत बताएका छन्।
“भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु। समृद्धिको विचार चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै विचार हो,” उनले भने।