रियललाई हराएको खेलमा केभिन डे ब्रुएनाले बनाए नयाँ रेकर्ड !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएना युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा सबैभन्दा छिटो गोल गर्न खेलाडी बनेका छन् ।

युइएफए च्याम्पियन्स लिग अन्तरगतको सेमिफाइनलको पहिला लेगमा ४–३ को जित निकालेको खेलमा ब्रुएनाले रियल म्याड्रिडविरुद्ध ९४ सेकेन्डमै गोल गर्न सफल भएका थिए । उनकै गोलमा सिटीले अग्रता लिन सफल भएको छ ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा ब्रुएनाले मे २०१८ मा म्याड्रिडविरुद्ध नै तेस्रो मिनेटमा योसुवा किम्मिखले बनाएको कीर्तिमानलाई तोडेका हुन् । च्याम्पियन्स लिगमै भने जर्मन क्लब बायर्न म्युनिखका रोय माकाएको नाममा छिटो गोलको कीर्तमान रहेको छ । उनले सन् २००७ मा रियल म्याड्रिडविरुद्ध २–१ को जित निकालेको खेलमा १०.१२ सेकेण्डमा गोल गरेका थिए ।

लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीका लागि फरवार्डद्धय रियाद महारेज र केभिन डि ब्रुएनाको समन्वयमा गोल निस्कन सफल भएको थियो । पेनाल्टी बक्स बाहिरको क्रसलाई मिडफिल्डर ब्रुएनाले रियलको बक्समा दौडदै डाइभिङमार्फत गरेको हेडरलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले रोक्ने कुनै मौका नै पाएन । ब्रुएनाको प्रयासलाई ड्यानी कार्भाजलले प्रयास गरेपनि सफल हुन सकेन ।

गोलको वर्षा भएको खेलमा सिटी घरेलु मैदानमा ४–३ ले विजयी हुन सफल भएको थियो । सिटीका लागि ब्रुएनासँगै गाब्रियल जेसस, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरेका रियलका लागि करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।

अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी लगातार दोस्रो सिजन फाइनलमा पुग्नेछ । यो सिजनबाटै अवे गोलको अवधारणा हटेकाले रियललाई फाइनल पुग्न दोस्रो लेगमा कम्तीमा पनि २–० को जितको खाँचो हुनेछ ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१६:२५

“नतिजा जे भएपनि रियल रियल नै हो, ढुक्क हुने अवस्था छैन”