“नतिजा जे भएपनि रियल रियल नै हो, ढुक्क हुने अवस्था छैन”

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले रियल म्याड्रिड विरुद्धको पहिलो लेगमा जित निकाल्दैमा ढुक्क हुनुपर्ने अवस्था नरहेको बताएका छन्। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियललाई ४-३ को गोल अन्तरले पराजित गरेपछि पेप गार्डियोलाले पहिलो लेग जित्दैमा ढुक्क भएर बस्ने अवस्था नरहेको बताएका हुन्।

पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले नतिजा जे जस्तो भएपनि रियल म्याड्रिड रियल म्याड्रिड नै रहेको र दोस्रो लेगमा जे पनि हुन सक्ने बताए। उनका अनुसार ढुक्क भएर दोस्रो लेगमा फितलो प्रदर्शन गर्ने छुट सिटीलाई छैन।

पहिलो लेगमा जति गोलको अन्तर रहेपनि दोस्रो लेगमा राम्रो प्रदर्शन गर्नुको विकल्प नरहेको गार्डियोलाको भनाई छ। उनी भन्छन्,”यो प्रतियोगिता जित्नको लागि अगाडी आउने हरेक परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। एक-गोल, दुई-गोल वा तीन-गोल जतिको अग्रता भएपनि दोस्रो लेगमा राम्रो प्रदर्शन गर्नै पर्ने हुन्छ। नतिजा राम्रो हुन सक्थ्यो। तर रियल त रियल हो।”

गार्डियोलाले पहिलो लेगमा आफूहरुले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै दोस्रो लेगमा पनि राम्रो प्रदर्शन गर्न सक्नु पर्ने बताए। रियल विरुद्धको दोस्रो लेगमा सिटीको वास्तविक परीक्षा हुने उनको भनाई छ। खेल जित्ने योजना सहित आफूहरु म्याड्रिड जाने उनले बताए।

“हामीले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सक्यौं। दोस्रो लेगमा पनि त्यस्तै प्रदर्शन गर्नुपर्नेछ। एक टोलीको रूपमा हाम्रो व्यक्तित्व देखाउन यो राम्रो परीक्षण हुनेछ। हामी खेल जित्नको लागि म्याड्रिड जानेछौँ।”,गार्डियोलाले भने।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१६:४०

यी ५ स्टार जसले २०२२ ब्यालोन डी ओरमा बेन्जेमालाई पछार्न सक्छन् !