टिकट किनबेच भएको शेखर कोइरालाको खुलासा !

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणको विषयले देशभर असन्तुष्टि बढेको बताउनुभएको छ । साथै, उहाँले टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरूले आर्थिक चलखेल र अनियमितता गरेको आरोपसमेत लगाउनुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

बुधबार बिहान प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेता कोइरालाले टिकट वितरणमा असन्तुष्टि राख्दै कैयौं कांग्रेस नेता तथा कार्यकर्ता कांग्रेस छोडेर अन्य पार्टीमा गएको पनि बताउनुभएको छ । ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन् ।

कैयौं साथीहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ’, कोइरालाले भन्नुभएको छ– ‘ती साथीलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु ।’

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेको भन्दै उहाँले त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरूले भोगिरहेको पनि बताउनुभएको छ ।

‘टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौं, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन’, विज्ञप्तिमा भनिएको छ– ‘अहिले म साथीहरूको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर ।’

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९०८:०५

दुई दिन बिदा हुने भएपछि तनावमा कर्मचारी !