नीतिबिहीन नेताहरु अझै पनि गालीगलौजमै व्यस्त, ओली र गगन बीच दोहोरि !

काठमाडौं । नेपाली कांग्रेसले गत आइतबार आसन्न चुनावको घोषणापत्र सार्वजनिक गर्दै भन्यो, ‘नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जनउत्तेजनाका व्यापारी हुन् । एमाले परमादेशबाट जन्मिएको पार्टी हो ।’ यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

भोलिपल्टै एमाले अध्यक्ष ओलीले अप्रिय शैलीमा त्यसको जवाफ फर्काए । सोमबार पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा आयोजिक कार्यक्रममा ओलीले भने, ‘ कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिँदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

ओलीको उक्त टिप्पणीपछि पनि देशका दुई प्रमुख दलका शीर्ष नेताहरुबीचको अराजनैतिक शैलीको आरोप—प्रत्यारोप सकिएन । अघिल्लो निर्वाचनबाट देशकै सबैभन्दा ठुलो दल बनेको एमालेका अध्यक्षले गालीगलौजको शैलीमा आफ्नो घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेपछि कांग्रेसका शीर्ष नेताहरु पनि किन चुप लागेर बस्थे र ! लगत्तै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ओलीको आक्रोशपूण अभिव्यक्तिबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गर्ने बताए । त्यतिमात्रै होइन कांग्रेसले पत्रकार सम्मेलननै गरेर ओलीको टिप्पणीको खण्डन पनि गर्यो ।

बुधबार कांग्रेसका महामन्त्री गगन थापाले ओलीलाई जवाफ फर्काउँदै भने, ‘जसको मुखमा अंगार छ उसले कालै ओकल्छ । केपी ओलीको बोलीको खण्डन गर्नेलाई उहाँले पागल भन्नुहुन्छ ।’ थापाले ओलीलाई तर्क मन नपर्ने भन्दै कुनै दिन अवसर मिलाएर बालकोटमै (अध्यक्ष ओलीको निवास) पुगेर ट्युसन पढाउनुपर्ने अवस्था आएको प्रतिक्रिया पनि दिए ।

त्यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ओलीलाई लक्षित गर्दै कडै अभिव्यक्ति दिएका थिए । उनले समाजिक सञ्जालमा लेखे, ‘तपाईंले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याऊ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नुभएको छ । माफ गर्नुहोस् श्रद्धेय कमरेड, उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन ।’ पछिल्लो चार दिनको अवधिमा नेपालका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले दिएका यस्ता अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको संघारमा आम सर्वसाधारण र मतदाताले कसरी लिएका होलान, अनुमान लगाउन खासै गाहृो छैन !

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको पृष्ठभूमिमा ओली सरकारको आलोचनामात्रै छ । ठूला दलले चुनावी घोषणापत्रमा जनताको मन जित्ने कार्यक्रम लिएर जानुपर्ने राजनीतिक अभ्यासलाई लत्याउँदै अहिले उनीहरु एकले अर्कोलाई तल्लोस्तरमा पुगेर गाली गर्दै आएका छन् ।

चुनावको मिति नजिकिँदै जाँदा त राजनीतिक दलहरु झनै लत्तो छाडेर एकअर्कोबीच आरोप—प्रत्यारोपमा ओर्लिएको देखिन्छ ।

पाँच पटक प्रधानमन्त्री भईसकेका देउवा, तीन पटक प्रधानमन्त्री भइसकेका ओली र सर्वधारणले भावी पुस्ताको रुपमा आशा गरेका कांग्रेसका महामन्त्रीद्वय शर्मा र थापाले राजनीतक संस्कार नै भुलेर तल्लो स्तरमा गाली गलौजमा उत्रिएपछि अहिले समाजिक सञ्जालमा चर्को बहस चलिरहेको छ ।

आफूलाई राजनेताको पगरी गुथाउने नेताहरुको बोल्ने शैलीमै अनुशासन छैन । राजनीतिक विश्लेषक एवं बुद्धिजिवीहरु पनि हाम्रा नेताहरुका स्तर खस्कदै गएको बताउँछन् ।

समाजको विकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबाट टाढिएर नेताहरु अहिले तल्लोस्तरमा गालीगलौजमा उत्रँदा त्यसले राजनीतिक संस्कार नै बिगार्ने उनीहरुको ठम्याई छ । ठूला नेताहरुले राजनीतिको गरिमा र आफ्नो स्तरलाई ख्याल नगर्दा त्यसले देशमा दृर्घकालीन असर पार्ने विश्लेषण उनीहरुको छ ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९०८:१४

गतिलामा नेताका नातागोता: कसैले छोरी उठाए, कसैले छोरा ! कहाँ-कहाँ देखियो परिवारवाद ?