काठमाडौँ – राजनीतिमा परिवारवाद पुरानै प्रवृत्ति हो। पारिवारिक विरासतका नाममा राजनीतिक योगदानबिना नै कतिपयले पद ओगट्ने गरेका छन्। यसपटक स्थानीय तह निर्वाचनमा काठमाडौं, भरतपुर, पोखरा र विराटनगर महानगरपालिकासहित धेरै स्थानीय तहमा शीर्ष नेताको परिवारका सदस्य उम्मेवार बनेका छन्। शक्तिको आडमा श्रीमती, छोरी, छोरा, भाइलगायत आफन्त स्थानीय सरकारको नेतृत्व लिन तम्सिएका छन्। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।
काठमाडौंमा प्रकाशमान पत्नी सिर्जना
गठबन्धनबाट काठमाडौंमा कांग्रेसकी सिर्जना सिंह मेयरमा उठेकी छन्। उनी कांग्रेस नेतृ प्रकाशमान सिंहकी श्रीमती हुन्। कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, मंगलादेवी सिंहको राजनीतिक विरासत कायम राख्न उनलाई अघि सारिएको हो।
भरतपुरमा दाहालपुत्री रेनु
भरतपुरको मेयर रेनु दाहाल दोस्रो पटक उम्मेदवार भएकी छन्। रेणु माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। उनी २०७४ को निर्वाचनमा मेयरमा विजय भएकी थिइन्। माओवादीले त्यस बेला कांग्रेससँग गठबन्धन गरेको थियो। माओवादी कार्यकर्ताले मतपत्र च्यातेर पुनः मतदान गरेपछि रेनुले जितेकी थिइन्।
विराटनगरमा उपेन्द्रका छोरा अमरेन्द्र
विराटनगरको उपमेयरमा अमरेन्द्र यादवको उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट उम्मेदवार भएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। उनी जसपाको विराटनगर महानगर कमिटी अध्यक्ष छन्। पार्टीमा लामो समयदेखि योगदान दिएकालाई पाखा लगाउँदै उपेन्द्रले छोरालाई टिकट दिएको आरोप लागेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्ष उम्मेदवार बनेकी छन्। उनले जसपाबाट उम्मेदवारी दिएकी हुन्। मधेस आन्दोलनका सहिदका परिवारलाई टिकट नदिएर मुख्यमन्त्री राउतकै जोडबलमा जसपाले खातुनलाई अघि सारेको हो।
लिङदेनका भाइ अध्यक्षका उम्मेदवार
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ रवीन्द्रप्रसाद लिङदेनले झापाको हल्दीबारी गाउँपालिकामा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
गृहमन्त्री खाँणका भाइ मैदानमा
कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनेका छन्।
सिन्धुपाल्चोकमा सभामुखका भाइ
सभामुख अग्निप्रसाद सापकोटाले भाइ कृष्णप्रसाद सापकोटालाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा टिकट दिलाएका छन्।
लेखराजका भाइलाई टिकट
एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज लेखराज भट्टका भाइ गोकर्ण भट्टले कैलालीको गोदावरी नगरपालिकाको मेयर पदमा टिकट पाएका छन्।
बिजुक्छेका भाइ
नेपाल मजदुर किसान पार्टीले भक्तपुरको भक्तपुर नगरपालिका–५ मा योगेन्द्रमान बिजुक्छेलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ।

