प्रशिक्षक र खेलाडी बीचको भिडन्त: को सही ? को गलत ?

काठमाडौं – एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशिक्षण क्याम्प छाडेका छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेको एन्फा स्रोतले जानकारी दियो ।

इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए । उनले टोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए । प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन् ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन् । एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको स्रोतले जानकारी दियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यसबारे प्रशिक्षकसँग छलफल गर्ने बुझिएको छ ।

त्यसो त प्रशिक्षक अलमुताइरी विवादमा आएको यो पहिलो पटक होइन । यसअघि पनि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवाद तथा त्यसपछि पटक पटक अन्य सिनियर खेलाडीसँग उनको तिक्तता रहेको फुटबल वृत्तमा चर्चा थियो । उनले पटक पटक एन्फा नेतृत्वलाई राजिनामा दिने बताउँदै पनि आएका छन् । साफ च्याम्पियनसिपपछि त उनले नेपाल नै नफर्कने समेत बताएका थिए । तर त्यसको केहि सातामा नेपाल आएर उनले सम्झौता नविकरण गरेका थिए ।

पछिल्लो घटनाले भने एन्फा नेतृत्वलाई नै विवाद सुल्झाउन दबाब पर्ने देखिन्छ । समर्थकमाझ निकै चर्चामा रहेका अलमुताइरीले पटक पटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको पनि बुझिएको छ ।

यस्तै उनले यसअघि नेपाली प्रशिक्षकबारे दिएको अभिव्यक्तिलाई लिएर पनि सामाजिक संजालमार्फत प्रशिक्षक अलमुताइरीले बाहिरिएका खेलाडीको स्थानमा अन्य नयाँ खेलाडीलाई क्याम्पमा समावेश गर्न पनि सम्पर्क थालिसकेको एन्फा स्रोतले जानकारी दियो । यद्यपि एन्फा नेतृत्वले भने यसबारे यकिन जानकारी नआइसकेको बताएको छ ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१२:२६

अलमुताइरीको व्यवहार देखि कप्तान किरण रुष्ट, सामाजिक सञ्जाल मै यस्तो भने !