एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले चेल्सीको सामना गर्दैछ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले चेल्सीको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ३० मिनेटमा शुरु हुनेछ।
आज हुने खेलमा युनाइटेड जित्नैपर्ने दबावमा हुनेछ। चेल्सी विरुद्धको खेलमा जित्न सके मात्रै युनाइटेड शिर्ष चारको दौडमा रहनेछ। चेल्सी विरुद्धको खेलमा पराजित भएको खण्डमा युनाइटेडको शिर्ष चारमा रहने अभियानमा लगभग पूर्णविराम लाग्नेछ।
युनाइटेड अहिले प्रिमियर लिगको छैठौं स्थानमा रहेको छ। युनाइटेडले अहिले सम्म ३४ खेल खेलिसकेको छ। युनाइटेडसँग अहिले ५४ अंक छ। चेल्सीसँग खेलेपछि युनाइटेडसँग खेल्नको लागि तीन खेल मात्रै बाँकी रहनेछ। चेल्सी विरुद्धको खेलमा हार्ने हो भने युनाइटेडले चौंथो र पाँचौ स्थानमा रहेका आर्सनल र टोटनह्यामसँगको अंकदूरी घटाउने मौका गुमाउनेछ।
आर्सनल र टोटनह्याम दुवैले युनाइटेड भन्दा एक खेल कम खेलेका छन्। आर्सनलको ६० अंक छ भने टोटनह्यामको ५८ अंक छ। चेल्सी विरुद्ध हार्ने हो भने युनाइटेड ५४ अंकमै सिमित हुनेछ। त्यस्तै जित निकालेको खण्डमा भने युनाइटेडको ५७ अंक हुनेछ।
अब युनाइटेडले शिर्ष चारमा रहन जित निकालेर मात्र पुग्ने छैन, आर्सनल र टोटनह्यामको नतिजामा पनि भर पर्नुपर्नेछ। आर्सनल र टोटनह्यामले सिजनका बाँकी खेल मध्ये धेरै खेलमा हार बेहोरेको खण्डमा मात्रै युनाइटेड शिर्ष चारमा अटाउनेछ।

