तपाईंको फेस नाइस छ, थुतुनो भएन भन्दै जब स्थापित रन्किए …

काठमाडौँ – काठमाडौं महानगरपालिका हाँक्न उम्मेदवारी दिएका केशव स्थापित आफूमाथि लागेको ‘मिटु’ आरोपको प्रतिवाद गर्न नसकेर अभद्र रूपमा प्रस्तुत भएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितलाई काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा बिहीबार आयोजित एक कार्यक्रममा सहभागीले मिटुबारे प्रश्न सोधेपछि उनी जंगिए।

कार्यक्रम प्रस्तोता भावना राउतले मिटु आरोपबारे प्रश्न सोध्दा स्थापित अभद्र किसिमले प्रस्तुत भए। ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन,’ प्रश्न सुनेपछि जंगिँदै स्थापितले प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिलाई लिएर आम नागरिकले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन्।

कार्यक्रम प्रस्तोताले निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र,’ भन्ने प्रश्नको उत्तरमा स्थापित निकै आक्रोशित बनेका थिए।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर छँदा स्थापितलाई त्यहीं काम गर्ने एक महिला कर्मचारी र एक महिला पत्रकारले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

तर, यसबारे कुनै पनि न्यायालयमा मुद्दा परेको थिएन। त्यस बेला स्थापितले आरोप प्रमाणित गर्न चुनौती दिएका थिए। त्यसपछि लामो समयसम्म यो विषय सेलाएको थियो। उनी प्रदेश सांसद हुँदा यो विषय पुनः चर्चामा आएको थियो, त्यसपछि फेरि सेलायो। बाग्मती प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा पनि उनी विवादमा परेका थिए।

मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा परेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो। अहिले आएर एमालेले मेयरको उम्मेदवार बनाएपछि स्थापितलाई मिटुबारे प्रश्न सोधिएको थियो। त्यस बेला उनी विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै हलुका जवाफ दिएर तर्केका थिए।

प्रायः यस्तो प्रश्नमा उनी तर्कने गरे पनि बिहीबार भने कार्यक्रम प्रस्तोता राउतको जवाफमा निकै जंगिएका थिए। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्थापितलाई टिकट दिँदै गर्दा महिला हिंसाप्रति एमाले जिम्मेवार नभएको टिप्पणी गरिएको छ।

यसबारेमा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। पोखरा महानगरपालिकामा दीपक पौडेललाई उम्मेदवार बनाउँदा सामाजिक सञ्जालमा विरोध भएको थियो। त्यतिबेला एमालेले मेयरको टिकट खोसेर अर्कैलाई दिएको थियो। तर काठमाडौं महानगरपालिकाका सन्दर्भमा एमाले मौन बसेको छ।

स्थापितलाई २५ वर्षपछि फेरि नगर प्रमुखको टिकट दिएपछि एमालेभित्रकै नेता कार्यकर्ताले पनि प्रश्न उठाएका छन्। उनको अस्थिर स्वभावलाई लिएर पार्टी कार्यकर्ताले प्रश्न उठाइरहेका छन्।

विगतमा एमालेकै तर्फबाट महानगरपालिकाको नेतृत्व गरिसकेका स्थापितले काठमाडौंबासीलाई सपनामात्रै बाँडेका थिएनन्, काठमाडौंलाई व्यवस्थित सहर बनाउने काम पनि गरेका थिए।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९०८:२३

प्रमुख/अध्यक्षमा एमालेले उठायो कांग्रेस भन्दा बढी उम्मेदवार !