एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक मौरिसियो पोचेटिनोले आफू पिएसजीमै रहने स्पष्ट पारेका छन्। एक पत्रकार सम्मेलनका क्रममा पोचेटिनोले आउने सिजन आफू पिएसजीमै रहने बताएका हुन्।
पत्रकार सम्मेलनका क्रममा पोचेटिनोले आफू पिएसजीमै रहने मात्र बताएनन्, युवा स्टार किलियन एम्बाप्पे पनि पिएसजीमै रहने दावी गरे। वर्तमान अवस्था हेर्दा आफू र एम्बाप्पे दुवै पिएसजीमा रहने सम्भावना रहेको पोचेटिनोको भनाई छ।
“म शतप्रतिशत बस्दै छु र एमबाप्पेले पनि त्यसै गर्छन् भन्ने मलाई लाग्छ। आज मलाई यस्तो लाग्छ। म र एम्बाप्पे दुवै पिएसजीमै हुन्छौं भन्ने मलाई लागिरहेको छ र म यो मात्रै भन्न सक्छु।”,पोचेटिनोले भने।
त्यस्तै पोचेटिनोले जे पनि हुन सक्ने कुरालाई भने नकार्न चाहेनन्। पोचेटिनोले फुटबलमा जे पनि हुन सक्ने बताए। उनले भने,”यो फुटबल हो, जे पनि हुन सक्छ। यसै हुन्छ भनेर भन्न सकिँदैन। तर मैले आज कस्तो महसुस गरिरहेको छ भन्ने आधारमा प्रश्नको जवाफ दिएको हुँ।”
युवा स्टार एम्बाप्पेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले एम्बाप्पेलाई लगातार पिएसजीमै रहन आग्रह गरिरहेको छ। एम्बाप्पेलाई पिएसजीको तर्फबाट अहिले सम्म कयौं आकर्षक सम्झौता प्रस्ताव गरिसकिएको छ। तर उनले पिएसजीको कुनै पनि प्रस्ताव स्विकार गरिरहेको अवस्था छैन।

