बायर्नमा सम्झौता थप गर्न लेवान्डोस्कीका दुइ शर्त, पूरा होलान् त ?

एजेन्सी – पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले नयाँ सम्झौताका लागि बायर्न म्युनिख समक्ष केहि शर्तहरु राखेका छन्। आउने वर्ष सम्झौता सकिँदै गरेका लेवान्डोस्कीले बायर्न समक्ष केहि शर्तहरु राखेका हुन्।

सम्झौता थपका लागि लेवान्डोस्कीले बायर्नसँग केहि शर्तहरु राखेको जर्मन मिडियाहरु बताउँछन्। जर्मन मिडियाहरुले गरेको दावी अनुसार लेवान्डोस्कीलाई बायर्नमा थप दुई वर्षको सम्झौता चाहिएको छ र उनी आफ्नो पारिश्रमिक पनि बढोस् भन्ने चाहन्छन्।

हाल बायर्नका सबै भन्दा बढी पारिश्रमिक बुझ्ने खेलाडी रहेका उनलाई थप पारिश्रमिक चाहिएको छ। खबरमा आएअनुसार उनले वार्षिक २४ मिलियन युरो पारिश्रमिक माग गरिरहेका छन्।

लेवान्डोस्कीको सम्झौता सन् २०२३ मा सकिँदैछ। सामान्यतया बायर्नले ३० वर्ष भन्दा माथिका खेलाडीहरुसँग खासै लामो समयका लागि सम्झौता गर्दैन। तर मानुएल नोयर र थोमस मुलरको हकमा भने एक वर्ष भन्दा बढीको सम्झौता हुने भैसकेको छ। लेवान्डोस्कीको पनि त्यहि अनुसार २ वर्षको सम्झौता हुन सक्छ।

तर लेवान्डोस्कीले माग गरेको पारिश्रमिक दिन बायर्न तयार हुन्छ कि हुँदैन भन्ने कुरा भने अन्योलमै छ। उच्च पारिश्रमिक दिने भन्दा खेलाडीलाई क्लब छाड्न दिने बायर्नको पूरानो बानि नै हो। पारिश्रमिकका कारण डेभिड अलाबा गत वर्ष बायर्न छाडेर रियल म्याड्रिड पुगेका थिए।

बायर्न र लेवान्डोस्की बीच सम्झौता थपका लागि छिट्टै नै निर्णायक छलफल हुने बताइन्छ। कुरा नमिलेको खण्डमा बायर्नले उनलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्न पनि सक्छ। तर बायर्न लेवान्डोस्कीलाई ४० मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्ने पक्षमा भने देखिँदैन।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१४:२३

बार्सिलोनाले क्याम्प नोउमा खेल्न नपाउने, कहाँ खेल्ने भयो त ?