काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार -मतपत्र कडा कागजमा छापिएको जानकारी दिएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्नेक्रममा थपलियाले मतपत्र कडा कागजमा छापिएको जानकारी दिएका हुन्।
राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मतपत्र कडा कागजमा छोपिएकाले च्यात्छु र चपाउँछु सोच नराख्न आग्रह गरे। उनले भने,”मतपत्र कडा कागजमा छापिएका छन्, च्यात्छु र चपाउँछु भन्ने सोच नराखौँ।”
विगतमा भएका गल्तीहरुलाई नदोहोर्याउन राजनीतिक दलहरुलाई उनको आग्रह छ। लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोच नराख्न उनले आग्रह गरे।
“अब हामीले त्यसलाई जगेर्ना गर्नुपर्ने अवस्था छ। केही प्रश्न सम्मानित व्यक्तित्वहरुबाट पनि उठेका छन्। बत्ती निभ्छ कि निभ्दैन ? अब सबै स्वीचमा आयोगको हात हुँदैन। कहाँ कसले के गर्छ हामीले हेरिराखेका त हुन्छौँ, तै पनि मैले सिधा भाषामा के भन्ने गरेको छु भने आदरणीय लोकतन्त्रप्रेमी महानुभावहरु विशेष गरेर यो लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरु, यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यसकारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस्। यो अनुरोध हो। छाप्दै त्यसैगरी छापेको हो। यो कुरा बुझिदिनुभयो भने आगामी दिनमा यस्ता प्रश्न उठ्दैनन्।”,उनले भने।
थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने बताए। संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उनको जोड छ। प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रशारित नगर्न उनले आग्रह गरे।

