एजेन्सी – गएको केहि समय देखि रोबर्ट लेवान्डोस्कीको भविष्य चर्चामा छ। विभिन्न खेल मिडियाहरु रोबर्ट लेवान्डोस्की बायर्न म्युनिख छाड्ने मनस्थितिमा रहेको दावी गरिरहेका छन्। आउने वर्ष सम्झौता सकिँदै गरेका उनले सम्झौता सकिनु अगाडी नै बायर्न छाड्ने सक्ने बताइन्छ।
लेवान्डोस्कीले बायर्न छाड्न खोज्नुका पछाडी बालोन डी’ओर मुख्य कारक रहेको विभिन्न खेल विश्लेषकहरु बताउँछन्। गएको वर्ष लेवान्डोस्कीलाई बालोन डी’ओरमा लियोनेल मेस्सीले पछि पारेका थिए। सन् २०२१ भर लेवान्डोस्कीले उच्च प्रदर्शन गरेका थिए।
उनले सन् २०२१ मा कुल ६९ गोल गरेका थिए। वर्षभर लगातार गोल गरेपनि उनले बालोन डी’ओर जित्न सकेका थिएनन्। बायर्नमा रहेर बालोन डी’ओर जित्न नसकिने देखेसँगै उनी क्लब परिवर्तन गर्ने पक्षमा देखिएको जर्मन मिडियाहरुको दावी छ।
बायर्नमा लेवान्डोस्कीको सम्झौता सन् २०२३ सम्मका लागि मात्रै छ। लेवान्डोस्की र बायर्न बीच सम्झौतालाई लिएर खासै छलफल भएको छैन। लेवान्डोस्की पारिश्रमिक बढाए मात्रै बायर्नमा बस्ने पक्षमा रहेका छन्। तर बायर्नको प्रचलनलाई हेर्ने हो भने ३० कटेका खेलाडीहरुलाई बायर्नले खासै उच्च पारिश्रमिक दिने गर्दैन र लामो समयका लागि सम्झौता पनि गर्दैन। यसले पनि लेवान्डोस्कीलाई क्लब परिवर्तनको अवस्थामा पुर्याएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
बायर्न र लेवान्डोस्की बीच सम्झौता थपका लागि छिट्टै नै निर्णायक छलफल हुने बताइन्छ। कुरा नमिलेको खण्डमा बायर्नले उनलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्न पनि सक्छ। तर बायर्न लेवान्डोस्कीलाई ४० मिलियन युरो भन्दा कम मूल्यमा बिक्री गर्ने पक्षमा भने देखिँदैन।