एजेन्सी – युरोपका शिर्ष लिगहरुमा अन्तिम चरणका खेलहरु चलिरहेका छन्। लगभग सबै लिगहरुमा केहि खेल मात्रै बाँकी छन्। केहि लिगमा त लिग विजेताको समेत टुंगो लागिसकेको छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वान जितिसकेको छ भने बायर्न म्युनिख पनि जर्मन बुन्डेसलिगा च्याम्पियन्स बनिसकेको छ।
सिजन अन्त्य तर्फ अगाडी बढ्दै युरोपका धेरै ठूला क्लबहरु उपाधिविहिन् भने पक्का भइसकेको छ। अहिले यहाँ त्यस्तै क्लबहरु बारे चर्चा हुँदैछ। उपाधिविहिन् हुने पक्का भएका युरोपका ठूला क्लबहरु निम्न छन्।
बोरुसिया डर्टमण्ड
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा बायर्न म्युनिखलाई सुम्पिसकेको छ। सिजनको मध्य सम्म बुन्डेसलिगाका लागि बायर्नलाई टक्कर दिरहेपनि लय गुमाउँदा डर्टमण्डले बायर्नलाई कडा टक्कर दिन सकेन। त्यस अगाडी डर्टमण्डले च्याम्पियन्स लिग र युरोपा लिग जित्ने अवस्था पनि गुमाएको थियो। त्यस्तै सुपर कप र डीएफबी पोकल जस्ता घरेलु उपाधि पनि डर्टमण्डले जित्न सकेन।
टोटेनह्याम हटस्पर
टोटेनह्याम हटस्परले उपाधि जितेको कयौं वर्ष भइसकेको छ। टोटेनह्यामले पछिल्लो पटक सन् २००८ मा उपाधि जितेको थियो। लिग कप जितेयता टोटेनह्यामले कुनै पनि उपाधि जितेको छैन। यस पटक पनि टोटेनह्याम उपाधिविहिन् हुने भएको छ। युइएफए कन्फरेन्स लिगबाट बाहिरिएको यस क्लबले घरेलु उपाधिहरु पनि गुमाइसकेको छ। हालको अवस्थामा टोटेनह्याम प्रिमियर लिगको शिर्ष चारको लागि लडिरहेको छ।
आर्सनल
गत समर आर्सनलको क्लबको इतिहासमा सबैभन्दा ठूलो ट्रान्सफर विन्डो थियो। त्यसबेला आर्सनलले १ सय २६ मिलियन पाउण्ड खर्च गरेको थियो। त्यति धेरै खर्च गरेर पनि आर्सनल यस सिजन उपाधिविहिन् हुने भएको छ। एफए कप र ईएफएल कप बाहिरिसकेको आर्सनल प्रिमियर लिग लिडर भन्दा २० अंकले पछाडी छ।
बार्सिलोना
घरेलु मात्र नभई युरोपेली उपाधिहरुका लागि समेत कडा टक्कर दिने बार्सिलोना यस सिजन उपाधिविहिन् हुने स्पष्ट छ। च्याम्पियन्स लिग, युरोपा लिग, कोपा डेल रे, स्पेनिस सुपर कपबाट बाहिरिएको बार्सिलोनाले लालिगा जित्ने सम्भावना पनि सकिसकेको छ।
म्यानचेस्टर युनाइटेड
गएको सिजन युनाइटेड प्रिमियर लिगमा दोस्रो भएको थियो। धेरैले जारी सिजनमा युनाइटेडले विभिन्न उपाधिहरुका लागि बलियो दाबेदारी प्रस्तुत गर्ने धेरैको अनुमान थियो। तर युनाइटेड च्याम्पियन्स लिग सँग-सँगै घरेलु लिग कपहरुबाट पनि बाहिरिसकेको छ। त्यस्तै युनाइटेड प्रिमियर लिगमा पनि कम्जोर अवस्थामा छ।