एजेन्सी – चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले आउने समर ट्रान्सफर विन्डोमा क्लब छाड्ने सक्ने सम्भावना देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीमा खासै सन्तुष्ट हुन नसकिरहेका लुकाकुले आउने ट्रान्सफर विन्डोमा चेल्सी छाड्न सक्ने सम्भावना बढेको हो।
चेल्सीले लुकाकुलाई गत वर्ष मात्रै इन्टर मिलानबाट किनेर ल्याएको थियो। लुकाकुलाई चेल्सीको ९७ मिलियन पाउण्ड खर्च भएको थियो। तर एक वर्षमै लुकाकुले चेल्सी छाड्न सक्ने विभिन्न खेल मिडियाहरु बताउँछन्।
बताइएअनुसार, लुकाकु चेल्सीमा सन्तुष्ट छैनन्। उनी प्रशिक्षक थोमस टुचेलको पहिलो रोजाईमा नियमित पर्न सकिरहेका छैनन्। प्रिमियर लिगका २३ खेल खेल्दा लुकाकु १३ पटक मात्र शुरुवाती ११ मा परेका छन्। प्रिमियर लिगमा चेल्सीका लागि उनले ५ गोल मात्र गरेका छन्।
चेल्सी जानु अगाडी लुकाकुले इन्टर मिलानमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनकै कारण इन्टर इटालियन घरेलु लिग सिरी ‘ए’ च्याम्पियन बनेको थियो।
बार्सिलोनाको चासो
लुकाकुलाई चेल्सीले बेच्न चाहेको चर्चा चलेसँगै त्यसतर्फ बार्सिलोनाको ध्यान केन्द्रित भएको छ। रोबर्ट लेवान्डोस्की र एर्लिङ हालाण्ड जस्ता खेलाडी भित्र्याउने योजना असफल हुने भएपछि बार्सिलोनाको नजर लुकाकु तर्फ केन्द्रित भएको स्पेनिस मिडियाहरु बताउँछन्।