एजेन्सी – खेलमा पछि परेको अवस्थामा पूनरागमन प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ ।
पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु टोलीका लागि केभिन गेमेइरो र एन्थोनी काचीले गोल गर्दा एक गोल उपहार पाएको थियो । पिएसजीका लागि एमबाप्पेले दुई तथा अचरफ हाकिमीले गोल गरेपनि जित निकाल्न सकेन ।
स्टार्सवर्गमा शुक्रबार राति भएको खेलका दोस्रो मिनेटमै केभिन गेमेइरोको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले लुकास पेरिनको पासमा गोल गर्न सफल भएका थिए । २३औं मिनेटमा केलियन एमबाप्पेको नेयमारको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६४औं मिनेटमा एमबाप्पेको पासमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि पिएसजीको लागि सुखद रहेन । ७५औं मिनेटमा मार्काे भेराट्टीले आत्मघाती गोल गरेपछि खेल ३–२ को स्थितिमा पुग्यो ।
पिएसजी जिततर्फ अग्रसर रहेपनि इन्ज्युरी समयमा सम्हालिन नसक्दा गोल खान पुगेपछि पिएसजी जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्थोनी काचीले गोल गर्दै च्याम्पियन बनिसकेको पिएसजीलाई जितबाट वञ्चित गराए ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाट स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । यो बराबरीले स्टार्सवर्गले अर्काे सिजन युरोपियन लिग खेल्ने सम्भावना जीवितै राखेको छ ।