काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीचको चुनावी तालमेल निकै धेरै पालिकामा असफल भएको छ । यो असफलतापछि गठबन्धनका नेताहरूबीच एकअर्कामा घोचपेच सुरु भएको छ । मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको भन्दै नेपाली कांग्रेसले ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छन् ।
महानगरपालिका र उपमहानगरपालिकाहरूमा एकीकृत समाजवादीलाई तालमेलमा समेटिए पनि अधिकांश पालिकाहरूमा नेपाली कांग्रेस एक्लै अघि बढेको छ । एकीकृत समाजवादी पार्टीसँग मतदाता नै नभएको भन्दै कांग्रेस र माओवादीले वास्ता गर्न छाडेपछि सत्ता गठबन्धन संकटमा परेको छ ।
सहरी विकास मन्त्रीसमेत रहेकी नेतृ झाँक्रीले सामाजिक संजालमार्फत भनेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ, हाम्रा वार्ता संवादमा केही दम्भ देखियो । यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ । बस ! ’
पार्टी विभाजनको जोखिम मोलेरै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहयोग पुर्याएको पार्टी हो एकीकृत समावादी पार्टी । ‘तर खोलो तरो लौरो बिस्र्यो’ भनेझै नेपाली कांग्रेसले चुनावमा खासै सहयोग नदिएपछि एकीकृत समाजवादीमा लाग्नेहरू निराश बनेका छन् । आखिर किन एकीकृत समाजवादीप्रति किन कृतघ्न भयो नेपाली कांग्रेस ? एकीकृत समाजवादी पार्टीको असन्तुष्टिले एमालेलाई कसरी फाइदा पुग्दै छ ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।
बहुदलीय लोकतन्त्र हाँक्ने भनेको दलहरूले हो । राजनीतिक दलहरू जति व्यवस्थित र अनुशासित हुन्छन्, शासन सत्ता सञ्चालन पनि त्यति नै व्यवस्थित र अनुशासित हुन्छ । तर आसन्न स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुखदलहरू भित्र निकै भद्रगोल देखिएको छ । उम्मेदवार चयनलाई समेत प्रमुखदलहरूले व्यवस्थित गर्न नसक्दा जतासुकै भद्रगोल उत्पन्न भएको छ ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई व्यवस्थित बनाउने निर्वाचन आयोगको प्रयासलाई समेत प्रमुखदलहरूले दुरुपयोग गर्दै भद्रगोल बनाइदिएका छन् । करिब ३५ हजार जनप्रतिनिधिहरू छनौट हुने स्थानीय निर्वाचनमा करिब तीन लाख उम्मेदवार मैदानमा उत्रने आँकलन गर्दै निर्वाचन आयोगले मनोनयन दर्ताको समय वैशाख ११ र १२ गते गरी दुई दिन तोकेको थियो । तर तोकिएको मध्ये पहिलो दिनसम्म पनि प्रमुखदलहरूले धेरै पालिका तथा वडाहरूमा उम्मेदवारको टुंगो लगाउनसमेत सकेनन् । जसका कारण वैशाख १२ गते उम्मेदवार मनोनयन पत्र दर्ताका लागि निकै ठूलो चाप देखिएको थियो ।
दलहरूले उम्मेदवारको टुंगो समयमै लगाइदिएको भए मतदाताहरूले अध्ययनको मौका पाउँथे । कुन उम्मेदवार के के कारण उपयुक्त छ, कुन उम्मेदवार के के कारण अनुपयुक्त छ ? छट्याउने मौका जनताले पाउँथे । तर दलहरूले त्यो अवसर जनतालाई दिएनन् । यसैगरी पाँच दलीय सत्ता गठवन्धनमा सामेल दलहरूले चुनावी तालमेल गर्ने निर्णय त गरे, तर त्यो निर्णयलाई बेलैमा व्यवहारमा उतार्न सकेनन् । ‘जब भयो राती, तब बुढी ताती’ भनेझैं पाँच दलीय गठबन्धनका नेताहरूले समय घर्किन लाग्दा मात्रै निर्णय गरेका कारण भद्रगोल उत्पन्न भएको छ ।
-सौर्य दैनिकबाट

