एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी युरोपका शिर्ष पाँच लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन्। शनिबार रियल म्याड्रिड लालिगा च्याम्पियन बनेसँगै एन्सेलोट्टी युरोपक सबै शिर्ष पाँच लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन्।
शनिबार राति रियल म्याड्रिडले लालिगाको ३४ औं खेलमा स्पान्योललाई पराजित गर्यो। रियल म्याड्रिडको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे।
प्रशिक्षकको रुपमा पहिलो पटक रियल म्याड्रिडको जिम्मेवारी सम्हाल्दा एन्सेलोट्टीले लालिगा जित्न सकेका थिएनन्। त्यसबेला उनले रियल म्याड्रिडलाई कोपा डेल रे, च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जितेका थिए। तर त्यसबेला उनी लालिगा जित्न भने चुकेका थिए।
यहि सिजन दोस्रो पटक रियलको जिम्मेवारी सम्हाल्न आइपुगेका एन्सेलोट्टीले यसपटक भने लालिगा जिते। यससँगै प्रशिक्षकको रुपमा एन्सेलोट्टीको उपाधि संख्या २२ पुगेको छ। प्रशिक्षकको रुपमा उनले कारण गर्न थालेको २५ वर्ष भइसकेको छ।
यस अगाडी उनले इंग्ल्याण्ड, इटाली, फ्रान्स र जर्मनीमा पनि उपाधि जितेका थिए। एन्सेलोटीले सन् २००४ मा एसी मिलानको प्रशिक्षक हुँदा उनले सिरी ‘ए’ जितेका थिए। त्यसपछि उनले सन् २०१० मा चेल्सीबाट प्रिमियर लिग जिते। त्यस्तै उनले सन् २०१३ मा पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट फ्रेन्च लिग वान जिते भने सन् २०१७ मा बायर्न म्युनिखबाट बुन्डेसलिगा जिते।