काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक÷दुई दिन वर्षा हुने मौसमविद् बासीले बताइन् । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।
यसैबीच, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा समस्या भएको हो ।
काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ । विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
अन्य विमानस्थल पनि उडानमा असहजता भइरहेको एयरलान्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताए ।