काठमाडौं । काभ्रेप्लान्चोक जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । मेयर बादेले शनिबार पत्रकार सम्मेलनमार्फत आफुले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
उनले बनेपा नगरपालिकाको मेयर पदमा फेरि उठ्ने आकांक्षा देखाएका थिए । तर, एमालेले उनलाई मेयरको टिकट नदिएपछि पार्टी परित्याय गरेको बताइएको छ । उनले एमालेका नेताहरुले आफुलाई धोका दिएको बताएका छन् ।
एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आफुलाई मेयर पदमा पुनः उठाउने बाचा गरे पनि अन्तिम समयमा आएर धोका दिएको उनले बताए । नेताहरुबाट धोका भएकाले आफुले पार्टी परित्याग गरेको जानकारी उनले दिए ।
उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन् । पार्टी परित्याग गरिसकेपछि नैतिकताका आधारमा पनि मेयर पदमा बसिरहन उपयुक्त नहुने भएकाले कार्यालय खुल्नासाथ पदबाट राजीनामा दिने उनले बताए ।
मेयर बादेले आफ्नो परिवारका अन्य सदस्यले पनि एमाले परित्याग गरेको बताए । स्थानीय तहको आगामी निर्वाचनमा एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई उम्मेदबार बनाएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु भण्डारीले पनि एमाले परित्याग गरेकी छन् । उनी एमाले परित्याय गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार रहेकी भण्डारी शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच कांग्रेस प्रवेश गरेकी हुन् ।

