एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा लिभरपुल आएयता कोलम्बियालीले फरवार्ड लुइस डियाजले सबैलाई आश्चर्यचकित पारिरहेका छन्। लिभरपुल आएलगत्तै जसरी उनी त्यहाँ सेटल भएका छन्, त्यसले अहिले सबैलाई चकित बनाइदिएको छ।
लिभरपुलले डियाजलाई यहि जनवरी ट्रान्सफर विन्डोमा भित्र्याएको थियो। डियाजका लागि लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई ३७ मिलियन युरो तिरेको थियो। लिभरपुल आएलगतै उनले लेस्टर सिटी विरुद्धको खेलमा डेब्यू गरेका थिए।
त्यसयता डियाज लिभरपुलका लागि लगातार खेलिरहेका छन्। लिभरपुलका लागि उनले प्रिमियर लिगका कुल १० खेल खेलिसकेका छन्। जसमध्ये ८ खेलमा उनी शुरुवाती ११ मै परेका छन्। प्रिमियर लिगमा उनले ३ गोल गरेका छन् भने उनको नाममा २ असिस्ट पनि छ।
त्यस्तै लिभरपुलको तर्फबाट च्याम्पियन्स लिगमा ५ खेल खेलेका छन्। च्याम्पियन्स लिगमा उनले लिभरपुलका लागि एक गोल गर्दै एक असिस्ट दिसकेका छन्। डियाज यति बेला लिभरपुलका पूराना स्ट्राइकरहरुलाई समेत टक्कर दिरहेका छन्।
प्रशिक्षक योर्गेन क्लोपको दिर्घकालिन योजनामा डियाज हुने स्पष्ट देखिसकेको छ। क्लबमा आएका नयाँ खेलाडीलाई उनले जसरी विश्वास गरिरहेका छन्, त्यसले डियाजलाई क्लोप कति मन पराउँछन् भन्ने स्पष्ट हुन्छ।
लिभरपुल आउनु अगाडी उनले पोर्टोमा सनसनी नै मच्चाएका थिए। पोर्चुगलको घरेलु लिगमा उनले १८ खेल खेल्दा १४ गोल गरेका थिए भने दुई असिस्ट दिएका थिए।