हालाण्ड सिटी गए यी खेलाडी सिटीबाट आउट !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्ड प्रिमियर लिग आउने चर्चा थप पेचिलो बन्दैछ। प्रिमियर लिडर म्यानचेस्टर सिटीले हालाण्डलाई भित्र्याउने पक्का-पक्कि भइसकेको ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्।

गएको केहि समय देखि चलिरहेको चर्चालाई मान्ने हो भने सिटी र हालाण्ड बीच एक प्रकारको मौखिक सहमति भइसकेको छ। आउने ट्रान्सफर विन्डोमै हालाण्ड सिटी पुग्ने विभिन्न खेल मिडियाहरुको दावी छ। सिटी हालाण्डलाई उच्च पारिश्रमिक दिन तयार रहेको बताइन्छ।

हालाण्ड सिटी गएको खण्डमा सिटीका एक स्ट्राइकरको भने भविष्य धरापमा पर्नेछ। पूर्व फुटबलर समेत रहेका फुटबल विश्लेषक केभिन क्याम्पबेलका अनुसार हालाण्ड सिटी गएको खण्डमा ग्याब्रियल जेससले सिटी छाड्नुपर्ने हुन्छ।

लामो समय देखि सिटीमा रहेका जेससले हालाण्ड त्यहाँ हुँदा मौका पाउने कमै सम्भावना हुने क्याम्पबेल बताउँछन्। जारी सिजनमा राम्रो लयमा देखिएको भएपनि जेसस हालाण्ड आएपछि ओझेलमा पर्न सक्ने क्याम्पबेलको भनाई छ।

“यदि उनीहरूले हालाण्डलाई भित्र्याउँछन् भने उनले नै बढी महत्व पाउँछन्, उनी नै नियमित शुरुवाती ११ मा पर्छन्। यसले जेससको खेल समयलाई कम गर्नेछ।”,क्याम्पबेल भन्छन्।

क्याम्पबेलका अनुसार सिटीले जेससलाई क्लब छाड्न दिनेछ। सिटी छाडेर जहाँ गएपछि उनले अन्य क्लबमा महत्वपूर्ण अवसर पाउने क्याम्पबेलको विश्वास छ। उनी भन्छन्,”जेससले अहिले पुनः आफूलाई प्रमाणित गरिरहेका छन्। तर मलाई लाग्छ कि उनीहरूले जेससलाई जान दिनेछन्। अन्यत्र जाने हो भने उनले नियमित मौका पाउनेछन्।”

प्रकाशित : सोमबार, बैशाख १९, २०७९०९:५६

क्लोपको नयाँ अस्त्र लुइस डियाज, यति छिटो ‘सेटल’ भएको देखेर सबै छक्क !