बैंकहरूले ऋण दिन छाडेपछि जग्गा कारोबार आधा घट्यो !

काठमाडौँ – पछिल्लो २ महिना यता जग्गा कारोबार निरन्तर घट्दै गएको भूमि व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार अहिले जग्गाको कारोबार २ महिना अघिको तुलनामा झण्डै आधा घटेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

‘फागुुन/चैत महिना यता जग्गाको कारोबार घट्दै गएको छ। यो अवस्था पछिल्लो हप्ता झण्डै आधा घटेको छ’ विभागका महानिर्देशक पिताम्बर घिमिरेले भने– ‘जग्गाको कारोबारका लागि वाणिज्य बैंकहरूले ऋण प्रवाह गर्न कठिनाइ गरेपछि यो अवस्था आएको हुन सक्छ।’

विभागका अनुसार गत बिहीबार देशभर ५ हजार ७ सय ५२ कारोबार भएको थियो। यसैगरी वुधबार ५ हजार ६ सय ९५ र मंगलबार ५ हजार २ सय २४ वटा कारोबार भएको थियो। फागुन/चैत महिनाअघि एक दिनमा ८ देखि १० हजार वटासम्म जग्गा कारोबार हुने गरेको घिमिरेले बताए।

विभागको मातहतमा देशभर १ सय २६ वटा मालपोत कार्यालयमा जग्गा प्रशासनसम्बन्धी काम हुन्छ। देशभरका सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेका छन्।

सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेकाले देशभर एक दिनमा कति कारोबार भयो, र यसबाट कति राजस्व उठ्यो यसको सबै डाटा केन्द्रमा आउने गरेको छ।

विभागका अनुसार देशभर कारोबार भएका सबै डाटा केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। जग्गा कारोबारबाट बिहीबार २१ करोड १९ लाख ७४ हजार रूपैयाँ राजस्व उठेको थियो।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९०८:३८

ठकुराठीका चुनावी एजेन्डा भाइरल: हेलिकोप्टरबाट बीउ छर्ने र ३ सय ६५ दिन नै दशैं !