सिटीको खेल अगाडी रियल म्याड्रिडलाई झड्का, महत्वपूर्ण खेलाडी खेल्न नसक्ने !

एजेन्सी – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लाग्ने देखिएको छ। टोलीका महत्वपूर्ण खेलाडी घाइते भएका कारण रियललाई झड्का लाग्ने भएको हो।

रियलका महत्वपूर्ण खेलाडी डेभिड अलाबा सोमबार प्रशिक्षणमा सहभागी हुन नसकेको स्पेनिस मिडियाहरुले जनाएका छन्। स्पेनिस मिडियाहरुका अनुसार अलाबा सोमबार प्रशिक्षणमा देखा परेनन्।

अलाबा गत साता म्यानचेस्टर सिटीको सामना गर्दा घाइते भएका थिए। उनी हाफ टाइम पछि खेलेका थिएनन्। त्यस्तै उनी रियलले इस्प्यानियोलको सामना गर्दा पनि खेल्न सकेका थिएनन्।

उनको ठाउँमा को ?

अलाबा नहुँदा प्रशिक्षक कार्लो एन्सेलोटीले डिफेन्समा नाचो फर्नान्डेजको साथ मुटुमा एडर मिलिटाओलाई उतार्ने देखिन्छ। इटालियन कोचले आफ्नो शुरुवाती ११ मा रोड्रिगो गोज वा फेडे भाल्भर्डे मध्ये कसलाई उतार्छन् भन्ने थाहा पाउन खेल सम्म नै कुर्नुपर्नेछ।

रियल पहिलो लेगमा सिटीसँग ४-३ को गोल अन्तरले पराजित भएको थियो। सिटी विरुद्ध दोस्रो लेगमा घरेलु मैदानको भरपुर फाइदा उठाउँदै पुनरागमन गर्ने योजना सहित रियल उत्रनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१०:५०

आज पानी पर्ला कि नपर्ला ?