ठकुराठीका चुनावी एजेन्डा भाइरल: हेलिकोप्टरबाट बीउ छर्ने र ३ सय ६५ दिन नै दशैं !

काठमाडौँ – सोमबार फेसबुक ट्विटर लगायतका सामाजिक सञ्जाल एउटा एकपाने चुनावी घोषणापत्रले रंगिए। घोषणापत्रमा रहेका आठबुँदालाई लिएर गम्भीर संवादको साटो बढी हाँसिमजाक चलिरहेको थियो। धेरैले त्यसमा भएका अजेन्डालाई उडाइरहेका थिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सो घोषणापत्र प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका एक उम्मेदवारको हो। जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा ‘हर हर ठकुराठी, घरघर ठकुराठी’ नारा दिएका छन्। सो घोषणापत्रको पहिलो बुँदामा दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकताको पूर्ति गरी आवश्यक संरचना बनाएर नगरपालिका घोषणा गर्ने उल्लेख छ।

दोस्रो बुँदामा चारवर्ष भित्रमा गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डावाहक पानी जहाज चलाइने राखिएको छ भने, तेस्रो बुँदामा जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई ३६५ दिन नै दसैं मनाउने वातावरण मिलाउने उल्लेख छ।

यस्तै नम्बर बुँदा सबैभन्दा बढी रोचक छ। जसमा उल्लेख गरिएको छ, ‘कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ।’

पाँचौ नम्बर बुँदामा जनताको स्वास्थप्रति प्रतिवद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उद्देश्यले गाईभैसी तथा बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गरिने उल्लेख छ। भने छैठौं बुँदामा केबुलकारको अजेन्डा राखिएको छ। जसमा ‘टप्वाको डाँडादेखि भागेश्वर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने’ उल्लेख छ। यस्तै घोषणापत्रको आठौं बुँदामा बेरोजगार युवाहरूलाई भत्ताका साथै निःशुल्क सीपमुलक तालिमको व्यवस्था गर्ने कुरा राखिएको छ।

अन्तमा उनेले ‘पटक–पटक अरूलाई हेर्‍याैँ, अब वौद्धिक इन्जिनियर खडक ठकुराठीलाई हेरौं,’ भनेर भोट मागेका छन्।

उनले सो घोषणापत्र आफूले पूर्ण ज्ञानका साथ तयार पारेको र त्यसमा भएका बुँदाहरू नै आफ्ना मुख्य अजेन्डा रहेको उनले बताए। ‘मलाई सबै जानकारी छ। जानेर नै लेखेको हुँ,’ उनले भने,‘हेलिकप्टरबाट बीउ छर्ने कुरा विदेशमा चीन र कंगोमा पनि छ। यहाँ नगर्न सकिने भन्ने हुन्न ।’ अन्नबालीका साथै बोटबिरुवा, सालसल्ला र उतिसको बीउ छर्ने काममा हेलिकोप्टरबाट गर्न मिल्ने उनले बताए।

परशुराम नगरपालिकासम्म महाकाली नदीको बहाव शान्त र सम्म रहेकाले यो नदीमा सुख्खा बन्दरगाह पनि बनाउँन समस्या नहुने उम्मेदवार ठकुराठीले बताए। उनले भने, ‘पारी उत्तराखण्डको तामोली बोर्डर छ। त्यहाँबाट जोड्ने झोलुंगे पुल हुन्छ। तल डुंगा चलाउन पनि सकिन्छ।’

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९०७:३५

प्रहरी वरीयतामा सधैं राजनीतिक तहबाट हस्तक्षेप, ३० वर्ष देखि लफडा !