भारतमा खपिनसक्नु गर्मी, १२२ वर्षयताकै उच्चतम सरदर तापक्रम ! कति ?

काठमाडौँ – भारत र पाकिस्तानका कतिपय स्थानमा तापक्रमले रेकर्ड तोड्दा लाखौं मानिसको जीवन जोखिममा परेको छ। जलवायु परिवर्तनको प्रभाव भारतीय उपमहाद्वीपमा प्रत्यक्ष अनुभव गर्न थालिएको छ।

गत अप्रिलमा उत्तर पश्चिम र मध्य भारतमा सरदर उच्चतम तापक्रम क्रमशः ३५.९ र ३७.८ डिग्री सेन्टिग्रेड पुगेको छ। भारतमा १२२ वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयता यो नै उच्चतम सरदर तापक्रम हो।

भारतको मौसम विभागका अनुसार गत महिना नयाँ दिल्लीको तापक्रम लगातार सात दिन ४० डिग्री सेन्टिग्रेडमाथि थियो। यो अप्रिलको सरदर उच्चतम तापक्रमभन्दा ३ डिग्रीले बढी हो।

भारतका कतिपय राज्यमा गर्मीका कारण विद्यालय बन्द भएका छन् भने बालीनालीसमेत नराम्ररी प्रभावित भएको छ। यसैगरी विद्युत् आपूर्तिमा थप दबाब सिर्जना हुँदा सर्वसाधारणलाई घरभित्रै बस्न र पानी पिइरहन सरकारी अधिकारीहरूले अनुरोध गरेका छन्।

तातो हावाको यो कहरले छिमेकी पाकिस्तानलाई समेत छोएको छ। पाकिस्तानको सिन्ध प्रान्तका जाकोबाबाद र सिबी सहरमा गत शुक्रबार तापक्रम ४७ डिग्री सेन्टिग्रेड पुगेको त्यहाँको मौसम विभागले जनाएको छ।

विभागका अनुसार पृथ्वीको उत्तरी गोलाद्र्धका सहरहरूमा रेकर्ड भएको तापक्रमको तुलनामा यी पाकिस्तानी सहरमा सो दिन रेकर्ड भएको तापक्रम सर्वाधिक हो। ‘कैयौं दशकयता पाकिस्तानमा पहिलोपटक तापक्रम यति धैरै स्तरमा बढेको छ। कतिपयले यो वर्षलाई वसन्त ऋतुविहीन वर्ष भनेका छन्,’ पाकिस्तानका जलवायु परिवर्तन मन्त्री सेरी रहमानले एक वक्तव्यमा भनेका छन्।

उता भारतमा यो सातादेखि तापक्रम घट्ने मौसम विभागले जनाएको छ तर जलवायु विज्ञले जलवायु संकटका कारण भारतीय उपमहाद्वीपमा धेरै समय र बारम्बार तातो हावा चल्ने चेतावनी दिएका छन्।

यसले दुई देशका अर्बौं मानिस प्रभावित हुने उनीहरूको दाबी छ। जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी निकाय (आइपिसिसी) का अनुसार जलवायु संकटले सबैभन्दा बढी प्रभावित हुने देशमा भारत पर्छ।

‘इतिहासमै पहिलोपटक तातो हावाको प्रभाव देखिएको छ। तीव्रता, आउने समय र रहने अवधिको हिसाबमा यसपटक तातो हावाको फरक प्रकृति देखिएको छ। यसले मानव स्वास्थ्यलाई समेत विभिन्न प्रभाव पार्नेछ,’ आइपिसिसीकी प्रमुख लेखक तथा इन्डियन इन्स्टिच्युट अफ ह्युमन सेटलमेन्ट्सकी वरिष्ठ अनुसन्धानकर्ता डा. चाँदनी सिंहले भनेकी छन्।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९०७:५३

विद्यालयहरुमा कार्यान्वयन होला त दुईदिने बिदा !