आज अक्षय तृतीया, यी वस्तु खरिद गर्न धेरै शुभ !

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

शास्त्र अनुसार अक्षय तृतीयाको दिन विवाहको लागि अबूझ मुहूर्त मानिन्छ । अर्थात यस दिन विवाह गर्नको लागि कुनै किसिमका मुहुर्त या दोष-काल हेर्नु आवश्यक पर्दैन। यस्तोमा यस दिन बिना कुनै कुण्डली मिलान विवाह गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि मनाइदै छ। अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएका हुन्। परशुराम भगवान् विष्णुको छैटौँ अवतार रहेको धार्मिक विश्वास छ।

अक्षय तृतीयाको दिन सुन र चाँदी खरिदको लागि निकै शुभ मानिन्छ । धार्मिक विश्वासका अनुसार यस सुन या कुनै धातु खरिद गर्दा अत्यन्तै शुभ फल दिने गर्छ । साथै यस भाँडाकुडा, गाडी तथा घर-जग्गा पनि खरिद गर्नु शुभ मानिन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९०८:१२

१०० वर्षसम्म मिल्ने छैन यस्तो मौका, सम्पन्न बन्न आजको दिन गर्नुहोस् यस्ता कार्य !