चुनावको मुखमा फेरी कोरोनाको डर, भारतमा बढ्दा जोखिममा नेपाल !

काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्दै गएको छ । नेपालमा पनि स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ । स्थानीय तहको निर्वाचन आउन अब केवल १० दिन बाँकी छ ।

खुला सिमानाका कारण नेपाल र भारतबीच ओहोरदोहोर सहज छ । ठूलो संख्यामा नेपालीहरू भारतका विभिन्न स्थानमा विभिन्न पेसा र व्यवसायमा सक्रिय छन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतबाट ठूलो संख्यामा नेपाली घर फर्कने क्रम पनि सुरु भइसकेको छ ।

यस्तो स्थितिमा सरकारले भारतमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि त्यसको असर पर्नसक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे ।

उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकिएको पनि बताए । अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए ।

अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती भएको प्रारम्भिक तथ्य फेला परेको जानकारी पनि दिए । उनले यस विषयमा थप अध्ययन अनुसन्धान भइरहेकोले विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।

सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरूको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनुपर्ने बताए । उनले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै थप सावधानी अपनाउन आवश्यक रहेको बताए ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९०८:२५

दुईदिने बिदाले तनावमा अभिभावक !