एजेन्सी – क्याटलान क्लब बार्सिलोना यस सिजन उपाधिविहिन् हुने पक्का भइसकेको छ। कोपा डेल रे, स्पेनिस सुपर कप, च्याम्पियन्स लिग, युरोपा लिग जस्ता प्रतियोगिताबाट बाहिरिएको बार्सिलोना लालिगामा पनि चिप्लियो। लालिगा समेत हातबाट उम्किएपछि बार्सिलोना जारी सिजनमा उपाधिविहिन् हुने पक्का भएको हो।
झन्डै पाँच प्रतियोगिता हातबाट उम्किदा बार्सिलोनाले ठूलो धनराशि समेत गुमायो। आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाले केहि उपाधि जित्न सकेको भए आर्थिक रुपमा केहि लाभ नै हुन्थ्यो। तर त्यस्तो हुन सकेन।
बार्सिलोनाले लालिगामा सिजनका चार खेल खेल्न बाँकि छ। आउने तीन साताको अन्तरालमा बार्सिलोनाले रियल बेटिस, सेल्टा भिगो, गेटाफे र भिल्लारियलको सामना गर्नेछ। र यिनै क्लब विरुद्धका नतिजाहरुले बार्सिलोनाको भविष्य निर्धारण गर्नछ।
बार्सिलोना अहिले लालिगाको दोस्रो स्थानमा छ। सिजनका ३४ खेल खेल्दा बार्सिलोनाले ६६ अंक बनाएको छ। बार्सिलोनालाई ६४ अंक सहित सेभिया र ६१ अंक सहित एट्लेटिको म्याड्रिडले पछ्याइरहेको छ।
बार्सिलोना च्याम्पियन्स लिगका लागि छनौट हुने संघारमा छ। आउने खेलमा रियल बेटिसलाई पराजित गर्न सके बार्सिलोना तीन खेल बाँकी रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुनेछ।
त्यस्तै बार्सिलोना दोस्रो भएर सिजनको अन्त्य गर्ने पक्षमा पनि हुनेछ। दोस्रो स्थानमा सिजनको अन्त्य गर्न सकेको खण्डमा बार्सिलोना सुपरकोपा डे स्पानाका लागि छनौट हुनेछ।