काठमाडौँ – नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर)की उम्मेदवार रहेकी सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।
डंगोल विरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी परेको हो। डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ।
काठमाडाैँ महानगरपालिकाकै स्थायी बासिन्दाले उनी विरुद्ध उजुरी दिएको बताइएको छ। उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्षसम्म काठमाडाैँ महानगरको शहरी विकास परियोजनाको सल्लाहकारकाे रूपमा नियुक्ति लिइ तलब-सुविधा बुझेकाे आराेप लगाइएको छ।
शहरी विकास परियोजनाज विज्ञ सल्लाहकारसँग प्राविधिक विषयको राम्राे ज्ञान हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको उनलाई नियुक्ति दिइएको भन्दै त्यसकाे अध्ययन गर्न उजुरीकर्ताले माग गरेका छन्।
“काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्तातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ”,अख्तियारमा दर्ता भएको उजुरीमा भनिएको छ।

