एजेन्सी – च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन आज राति रियल म्याड्रिड र म्यानचेस्टर सिटी आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रियल र सिटी आमने-सामने हुन लागेका हुन्।
पहिलो लेगमा सिटीले रियललाई हराएको थियो। रेलु मैदान इतिहाद रंगशालामा सिटीले ४-३ को रोमान्चक जित हाँसिल गरेको थियो। त्यसबेला सिटीका लागि केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरेका थिए भने रियलका लागि फरवार्ड करीम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरेका थिए।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्। फाइनलमा स्थान बनाउनको लागि सिटीले रियललाई बराबरीमा रोके मात्र पुग्नेछ। तर रियलले भने सिटीलाई २-० को गोल अन्तरले पराजित गर्नुपर्नेछ। रियल आजको खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध गरेजस्तै पुनरागमन गर्ने योजना सहित मैदानमा उत्रनेछ।
सिटी र रियल अहिले सम्म च्याम्पियन्स लिगमा ७ पटक आमने-सामने भएका छन्। जसमध्ये ३ खेल सिटीले जितेको थियो भने २ खेल रियलले जितेको थियो। त्यस्तै दुई खेल भने बराबरीमा टुंगिएको थियो।
रियल र सिटी बीचको खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।