एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी वान प्लेयर अफ द इयरमा मनोनयन हुन असफल भएका छन्। यसै सिजन क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी लिग वानको ‘प्लेयर अफ द सिजन’का लागि मनोनयनमा पर्न असमर्थ भएका हुन्।
मेस्सीले पिएसजी पुगेपछि लिग वानमा मात्रै ४ गोल गरेका छन्। कुल २३ खेल खेल्दा मेस्सीले यो संख्यामा गोल गरेका हुन्। मेस्सीको नाममा १३ असिस्ट पनि छ। मेस्सीले यति कम संख्यामा गोल गरेको धेरै लामो समय पछि हो।
फ्रान्सेली खेलाडी युनियन (UNFP) ले अवार्डका लागि अघि सारेको पाँच खेलाडीको सूचीमा मेस्सी मात्र नभई नेयमार पनि छैनन्। नेयमारले जारी सिजनमा ११ गोल गरेका छन् भने ६ असिस्ट दिएका छन्। सो सूचीमा पिएसजीका किलियन एम्बाप्पेले पनि स्थान बनाएका छन्।
पिएसजी लिग वान च्याम्पियन बन्दा एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो। एम्बाप्पेले लिग वानको जारी सिजनमा २४ गोल गरेका छन् भने १६ असिस्ट दिएका छन्। एम्बाप्पेले ३२ खेल खेल्दा यो संख्यामा गोल गरेका हुन्।
को-को परे मनोनयनमा ?
रेनेसका स्ट्राइकर मार्टिन टेरियर र मोनाकोका विसाम बेन येडर उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्। दुवैले जारी सिजनमा २१ गोल गरेका छन्। त्यस्तै सो सूचीमा मार्सेका दिमित्री पायेट र लियोनका लुकास पाकेटाको पनि नाम रहेको छ।