राहुल गान्धीलाई जोडेर नेपाली चेलीमाथि भाजपाको प्रहार, गाली नै गाली गरियो !

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीको यसपटकको नेपाल भ्रमण विभिन्न कारणले चर्चामा रह्यो । उनी खासमा आफ्नी साथी सुम्निमा उदासको विवाहमा सरिक हुन काठमाडौँ आएका हुन् । राहुल गान्धी सोमबार नेपाल आएपछि ठमेलको नाइट क्लब लर्ड अफ द डिङ्क्समा गएको भिडियो सार्वजनिक भएपछि त झन् भारतमा तहल्कै मच्चियो ।

भारतीय जनता पार्टी (भाजपा) ले विशेषगरी उनको उक्त भिडियो सेयर गर्दै उनीमाथि निशाना साँधे । अब भाजपा नेताको निशानामा राहुल गान्धीकी नेपाली साथी सुम्निमा उदास परेकी छिन् । भाजपाका थुप्रै नेताले सुम्निमा उदासलाई एन्टि इन्डिया बताउँदै उनले भारतको अखण्डतालाई चुनौती दिने बताइरहेका छन् ।

भाजपा नेताले सीएनएन इन्टरनेशनलमा संवाददाताको रुपमा काम गरिसकेकी सुम्निमा उदासको विषयमा थुप्रै ट्वीट गरेका छन् । ट्वीटमा सन् २०२० को एक न्युज आर्टिकलको स्क्रिनसट सेयर गरिएको छ । यो एन्टी इन्डिया सेन्टिमेन्टलाई सुम्निमाले समर्थन गरेको दाबी गरिँदैछ । प्रमाणको रुपमा भाजपा नेताले सुम्निमाको एउटा ट्वीट पनि देखाएका छन् ।

भाजपा आइटी सेलका इन्चार्ज अमित मालवीयले आफ्नो ट्वीटमा राहुल गान्धीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘राहुल गान्धी नेपाली कूटनीतिज्ञकी छोरी सुम्निमा उदासको विवाहमा सरिक हुन गएका हुन् भन्ने मान्यता राखिन्छ । सुम्निमाले भारतको उत्तराखण्डको क्षेत्रमा नेपालको दाबीको सक्रिय समर्थन गर्छिन् । चीनदेखि नेपालसम्म राहुलको सम्बन्ध उनैसँग किन छ, जो भारतको क्षेत्रीय अखण्डतालाई चुनौती दिइरहेकी छिन् ?’

यस्तै, भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पुनावालले पनि राहुल गान्धीमाथि आरोप लगाएका छन् । उनले आफ्नो ट्वीटमा लेखे, ‘राहुल गान्धी कुनै यस्तो व्यक्तिको विवाहमा गएका छन् जसले भारतको अखण्डतालाई चुनौती दिन्छिन् । के राहुल भारत विरोधी सुम्निमा उदासको विवाहमा पार्टी गरिरहेका थिए भन्ने कुरालाई कांग्रेसले स्पष्ट पार्नुपर्छ ।’चीनसँग एमओयू, डोकलामका बेला गोप्य भेट, ३७० मा पाकिस्ताको लाइन, सर्जिकल स्ट्राइक, पुलवामामाथि प्रश्नजस्ता मुद्दा उठाउँदै पुनावालले राहुल गान्धीमाथि निशाना साँधे ।

-सौर्य दैनिकबाट

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९११:१५

स्थानीय तह निर्वाचन : गालीगलौजदेखि झडपसम्म ! कहाँ के भए ?