एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रियल म्याड्रिड विरुद्ध आफूहरुले राम्रो खेलेको बताएका छन्। युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग पराजित भएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले रियल विरुद्ध आफूहरुले राम्रो खेलेको बताएका हुन्।
खेल नियन्त्रणमा हुँदा-हुँदै पनि हार बेहोर्न पुगेको ग्वार्डिओलाले पत्रकारहरु समक्ष बताए। अन्तिम समयमा बाहेक खेलभर सिटीले धेरै राम्रो खेलेको ग्वार्डिओलाको भनाई छ।
“अन्तमा बाहेक, हामी शानदार थियौं। तर यहाँ महत्व त गोलको नै हुन्छ। उनीहरुले हामी भन्दा बढी गोल गरे। खेलभर हामीले रियललाई नियन्त्रणमा राखेका थियौं। हामीले राम्रो खेल्यौं। यो सत्य हो कि उनीहरु खतरनाक देखिन्थे।”,ग्वार्डिओलाले भने।
रियलसँग हरेकोमा आफूहरु धेरै विचलित नरहेको पनि ग्वार्डिओलाले बताए। रियलले यस अगाडी पनि यस्ता जितहरु निकालिसकेको कारण हारले आफूहरुलाई धेरै दुख नदिएको ग्वार्डिओलाको भनाई छ।
उनी भन्छन्,”हामी धेरै नजिक थियौं। पहिलो हाफमा हामीले संघर्ष गरेपनि दोस्रोमा राम्रो भइरहेको थियो। अन्तमा हामीले उनीहरुलाई नियन्त्रणमा राख्न सकेनौं। उनीहरूले इतिहासमा धेरै पटक यस्तो गरेका छन्। त्यसैले हामीले विचलित महसुस गरेनौं।”
ग्वार्डिओलालाई पत्रकारहरुले रियल म्याड्रिड विरुद्धको हार अनुभव गरेको सबैभन्दा पीडादायी हार हो भनेर प्रश्न गरियो। जसको जवाफमा ग्वार्डिओलाले रियलसँगको भन्दा दुखदायी हार आफूले यस अगाडी नै भोगिसकेको बताए।