काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रेणु दाहालले नजितेको खण्डमा देश दुर्घटनामा जान सक्ने बताएका छन्। बिहिबार गठवन्धनले भरतपुरमा आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान सक्ने बताएका हुन्।
प्रचण्डले भरतपुरमा हँसिया हतौडामा मतदान नहुने हो र रेणु हार्ने हो भने देश दुर्घटनामा जान सक्ने बताए। समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हँसिया हतौडा मतनहाल्नु ठूलो गल्ती हुन जाने प्रचण्डको भनाई छ। प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरे।
कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने नै बताए।
“तपाईँहरुले अहिले पनि यो गठबन्धन राष्ट्र र जनताको आवश्यकता हो । यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर मत हालिदैन हँसिया हतौडामा भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। होइन यो राष्ट्रको आवश्यकता हो भनेर तपाई चितवनवासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धन १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ । तपाईहरुले नेताहरु मात्रै नहेर्नुस् । तपाईँहरुको पनि फैसला गर्ने अधिकार छ ।”,प्रचण्डले भने।

