काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विवादमा तानिएकी छन्। डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा दिएको अभिव्यक्तिका कारण आरजु विवादमा तानिएकी हुन्।
प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी छन्। गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कांग्रेसले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाउने चेतवानी दिएकी हुन्।
“कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ? त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।”,आरजुले भनिन्।
डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ। डडेलधुरामा पूर्व जिल्ला सभापति कर्ण मल्ल नेपाली कांग्रेस बिपीको चुनाव चिन्ह करुवा लिएर चुनावमा होमिएका छन्। उनले एमालेसँग समेत तालमेल गरेका छन्। एमालेसँग तालमेल गरेपछि उनलाई पार्टीले निष्काशन गरिसकेको छ।