रेणुले हारे गठवन्धन तोडिने !

चितवन‚ सत्तारूढ दलका शीर्ष नेताहरूले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामले पाँचदलीय गठबन्धनको भविष्य निर्धारण गर्ने अभिव्यक्ति दिएका छन् ।

माओवादी केन्द्रबाट महानगर प्रमुखमा उम्मेदवार बनेकी रेनु दाहालले चुनाव नजिते गठबन्धन टुट्न सक्ने उनीहरूले जनाएका छन्  । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई नै साझा उम्मेदवारका रूपमा अघि सारेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पौडेलको उम्मेदवारीले खडा गरेको चुनौती चिर्न बिहीबार भरतपुरमा चुनावी सभा गरेरै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले रेनुका पक्षमा मत मागेका छन् ।

भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित सभामा देउवाले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताए । गठबन्धनको भविष्य भरतपुरको निर्वाचनमा निर्भर रहेको उल्लेख गर्दै उनले गठबन्धन टुटे आफ्नो पार्टीलाई क्षति पुग्ने अभिव्यक्तिसमेत दिए । ‘भरतपुरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, यसलाई सफल हुन दिनु हुँदैन,’ उनले भने, ‘षड्यन्त्र सफल भए कांग्रेस पार्टी पनि खत्तम हुन्छ ।’

देउवाले रेनुलाई सफल महानगर प्रमुख भनेर प्रशंसा गरे । रेनुले सडकलगायत पूर्वाधारमा राम्रो काम गरेको, महानगरमा बेरुजु घटाएको, स्मार्टसिटी, अन्तर्राष्ट्रिय क्रिकेट मैदान र अन्तर्राष्ट्रिय सभाहलको अवधारणा अघि सारेको उल्लेख गर्दै उनले रेनु मेयरका लागि उपयुक्त पात्र रहेको उनले बताए । ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए भने भरतपुरका जनताले के भन्लान् ?’ उनले भने । अहिले रेनुलाई सहयोग गरेर जिताए कांग्रेसको पालो आउने देउवाको भनाइ थियो ।

माओवादी अध्यक्ष दाहालले भरतपुरका जनता अहिले ठूलो ऐतिहासिक परीक्षणमा रहेको बताए । ‘तपाईंहरूले अड्डी कसेर गठबन्धनको विरोध गरिराख्नुको अर्थ प्रतिगमन, निरंकुशता, गणतन्त्रविरोधी र लोकतन्त्रविरोधीलाई साथ दिनु हुनेछ,’ उनले भने, ‘नेता–कार्यकर्ताको पनि ठूलो अग्निपरीक्षा हुँदै छ, यो फैसला तपाईंकै हातमा छ ।’ दाहालले गठबन्धन कमजोर भए देश दुर्घटनामा पर्ने तर्क गरे ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९०८:५५

एमाले देखाएर कांग्रेसलाई प्रचण्डले तर्साएपछि …