नारायणगढ । स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा सत्तारूढ गठबन्धनले बिहीबार चुनावी सभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित चुनावी सभाका वक्ता थिए, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा कार्यकारिणी सदस्य एवं मन्त्री राजेन्द्र श्रेष्ठलगायत । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
मुलुकको ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई विराटनगर भागबन्डा गरेकोमा भरतपुर भने धेरैको चासो बनेको छ ।
६ महानगरमा मुख्य प्रतिस्पर्धा सत्तारूढ गठबन्धन र एमालेबीच नै हुने भए पनि भरतपुरलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् । भरतपुरलाई लिएर बढी चासो बढ्नुमा त्यहाँ माओवादी अध्यक्ष दाहालकी छोरी उम्मेद्वार बनेकी छन् । उनको हारजितलाई गठबन्धनकै भविष्यलाई समेत जोडेर हेरिएकाले भरतपुर स्थानीय निर्वाचनकै ‘इपिसेन्टर’ बनेको हो ।
त्यसैले त त्यहाँको चुनावी सभालाई सम्बोधन गर्न देउवा, दाहाल र नेपालसमेत पुगेका हुन् ।
भरतपुरमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरूले मुलुकभरकै ‘गठबन्धन’को भविष्य र उथलपुथलबारे चर्चा गर्ने क्रममा भरतपुरलाई भने बढी नै जोड दिएको देखियो । यतिसम्म कि शीर्ष नेताहरूले ‘भरतपुर हार्दा गठबन्धन हार्ने र जित्दा सिंगो गठबन्धन जित्ने’ भाषासमेत बोले ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले गठबन्धनको निरन्तरता र रेणु दाहालको प्रशंसामा समय खर्चिंदा माओवादी अध्यक्ष दाहाल भने एमालेलाई जोडेर कांग्रेसलाई तर्साउनसमेत पछि परेनन् ।
उनले एमालेले आफूसँग एकता र तालमेलका कुरा गरेको खुलासा गरेर देउवालाई झस्काउनसमेत भ्याए । ‘एमालेका साथीहरू अहिले पनि मिलौं भन्दै आएका छन्,’ गठबन्धनका अन्य नेताहरूलाई झस्काउँदै दाहालले भने, ‘तर मैले हुन्न भनेको छु, म अहिले यही गठबन्धनलाई १५÷२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु ।’
दाहालले भरतपुरको जितहारलाई गठबन्धनको मात्र नभई देशकै भविष्यसँग तुलना गर्न पनि खोजें । उनले भने, ‘भरतपुर महानगर प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीलाई भोट नहाले देश नै दुर्घटनामा जान सक्छ, होइन यो राष्ट्र र जनताको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेणु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले यो गठबन्धन राष्ट्र, लोकतन्त्र र विकासको आवश्यकता हो भन्ने नबुझे देश दुर्घटनामा जाने चेतावनीसमेत दिए ।
सभाको अन्तिममा सम्बोधन गरेका कांग्रेस सभापति देउवाले पनि गठबन्धन जोगाउन भरतपुर जित्नैपर्ने भनाइ राखे । ‘कुनै हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुनै सक्दैन, हुँदैहुँदैन, यो कुरामा स्पष्ट हुनुस् तपाईंहरू,’ देउवाले भने ।

