एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै समग्रमा २–१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
रोमामा भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा ट्याम्मी अब्राहमले गरेको गोल नै निर्णायक बन्यो । उनले ११औं मिनेटमा लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको नतिजा नै रोमालाई फाइनलमा पुग्न पर्याप्त बन्यो ।
अर्काे खेलमा डच क्लब फियोनुर्डले दोस्रो लेगमा फ्रान्सेली क्लब मार्सेलाई गोलरहित बराबरीमा रोक्दै समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको छ । फियोनुर्डलाई पहिलो लेगको नतिजा नै फाइनल पुग्न पर्याप्त बन्यो ।
अब रोमा र फियोनुर्डबीचको फाइनल २५ मेको रातिमा हुनेछ । युइएफएले कन्फ्रेन्स लिग पहिलोपटक आयोजना गरेको हो । यि दुई मध्ये एक टोली कन्फ्रेन्स लिगको पहिलो च्याम्पियन बन्नेछ ।