एजेन्सी – स्वर्गीय अर्जेन्टिनी फरवार्ड डिएगो म्याराडोना विश्व फुटबलका सर्वकालीन महान् फुटबलर मध्येका एक हुन् । उनै म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा लगाएका जर्सी मोटो रकममा लिलामी भएको छ ।
उनको त्यो जर्सी ७.१ मिलियन पाउण्ड (१ अर्ब ७ करोड नेपाली रुपैयाँ) मा लिलामी भएको छ । जर्सीको खरिदकर्ताको नाम भने गोप्य राखिएको छ । योसँगै यो जर्सी विश्वको धेरै मुल्यमा बिक्री हुने सुचीमा परेको छ । मेक्सिकोमा सन् १९८६ को जुन २२ मा भएको इंग्ल्याण्ड र अर्जेटिनाबीचको विश्वकपको क्वाटरफाइनलमा भएको खेल म्याराडोनाले उक्त जर्सीमा म्याराडोनाले हातले गोल गरेका थिए ।
जुन गोललाई ‘ह्याण्ड अफ गड’ भनेर चिनिन्छ । त्यो गोल गर्दा म्याराडोनाले हेड गर्न खोजेका थिए तर बल नभेट्दा हातले पेल्दै गोल भएको थियो । रेफ्रीले त्यो ह्याण्ड देखेनन् र गोलको मान्यता दिएका थिए ।
यो खेल एक महत्वका साथ पनि हेरिएको थियो किन कि सन् १९८२ को फकल्याण्ड युद्धमा इंग्ल्यान्ड र अर्जेन्टिना होमिएका थिए । युद्ध इंग्ल्याण्डले जितेको थियो । विश्वकपमा इंग्ल्याण्डलाई हराएर अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सन् २००२ मा विश्व फुटबल महासंघ (फिफा) ले सोही खेलमा म्याराडोनाले गरेको अर्को गोललाई शताब्दीको उत्कृष्ट गोल घोषित गरेको थियो । खेलमा इंग्ल्याण्डलाई २–१ गोलअन्तरले पराजित गर्दै अर्जेटिना सेमिफाइनलमा पुगेको थियो ।
म्याराडोनाले उक्त जर्सी खेलपश्चात इंग्ल्याण्डका मिडफिल्डर स्टिभ हजसँग साटेका थिए । उनले त्यो जर्सीलाई अहिलेसम्म सम्हालेर राखेका थिए । यो पछिल्लो बीस वर्षदेखि म्यानचेस्टरमा रहेको इंग्ल्याण्डको राष्ट्रिय फुटबल संग्रालयमा राखिएको थियो । म्याराडोनाको दुई वर्षअघि निधन भएको थियो ।

