एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो ।
एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका ह्युङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ५६औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले रेयान सेसेग्ननको पासमा गोल गर्न सफल भएका थिए ।
७४औं मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । उनले थियागो अलकान्तराको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीपछि लिभरपुल शीर्षस्थानमा उक्लिएपनि अंक दुरीलाई बढाउन सकेन । बराबरीले लिभरपुललाई धक्का लागेको छ । लिभरपुलको ३६ खेलबाट ८३ अंक छ । समान ८३ अंक नै रहेपनि म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । टोटेनहम ३५ खेलबाट ६२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।